कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले विद्यार्थीहरूलाई पढाइका साथसाथै व्यावहारिक सीपमा पनि दक्ष बनाउने उद्देश्यले सुरु गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। यो कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार विद्यार्थीहरूलाई किताबको बोझबाट मुक्त गरी विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिन्छ।

विद्यालयका प्रधानाध्यापक दिजराज भट्टका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनुका साथै हाम्रो मौलिक संस्कारसँग जोड्न मद्दत पुर्याएको छ। शुक्रबारका दिन विद्यार्थीहरूले दुनाटपरी बनाउने, बत्ति बाट्ने, मेहेन्दी डिजाइन गर्ने, संगीत सिक्ने, कपाल काट्ने, र पार्लरसम्बन्धी सीप सिक्ने अवसर पाउँछन्।

खासगरी, २० जना विद्यार्थीहरूले पूजापाठसम्बन्धी विधि र मन्त्र सिक्दैछन्, जसले उनीहरूलाई हाम्रो सांस्कृतिक परम्परा बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ। वि.सं. २०४८ सालमा स्थापना भएको यस विद्यालयमा हाल ११०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् र उनीहरूले शैक्षिक क्षेत्रमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्। यस विद्यालयमा प्लस टुमा होटल म्यानेजमेन्ट, कम्प्युटर कमर्स र कमर्स विषयको पढाइ हुँदै आएको छ।

त्यसैगरी विद्यालयले बेलाबेलामा विद्यार्थीहरूलाई शैक्षिक भ्रमण (फिल्ड भिजिट) मा पनि लैजाने गर्छ। यसले उनीहरूलाई सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनसँग जोड्न सहयोग पुर्याउँछ। यसरी सिकेको ज्ञान र सीपले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्न र समाजमा उपयोगी नागरिकका रूपमा स्थापित हुन सहयोग पुग्ने विश्वास गरिएको छ।

यो कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानका अतिरिक्त जीवन उपयोगी सीप सिकाएर भविष्यका लागि तयार पार्ने एक उत्कृष्ट पहल भएको र यसबाट समाजमा सकारात्मक प्रभाव परिरहेको विद्यालय प्रशासनले जनाएको छ।











Discussion about this post