कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर-१० का बासिन्दा यतिबेला हात्तीको आतङ्कले त्रसित बनेका छन्। गए राति आएको हात्तीको बथानले स्थानीयको घर र धानबालीमा ठूलो क्षति पुर्याएपछि उनीहरूमा त्रास फैलिएको हो।
गए राति करिब २-३ बजेको समयमा हात्तीको बथानले वेदकोट-१० का स्थानीय विशाल सुनारको घर भत्काएको छ। घर भत्काएपछि सुनारको चार जनाको परिवार बिचल्लीमा परेको छ। वडा अध्यक्ष रतन सिंह विष्टले राती आएको हात्तीको बथानले घर भत्काएपछी सुनार परिवारको बिजोग भएको जानकारी दिए।

हात्तीको बथानले घर मात्र नभई स्थानीयको धानबालीमा पनि ठूलो क्षति पुर्याएको छ। पुरन चुनारा, पुष्कर चुनारा र हिरादेवी शार्कीको पाक्न लागेको धानबाली हात्तीले नष्ट गरिदिएको छ। वर्षभरि खाने अन्नबाली हात्तीले खाइदिएपछि किसानहरू चिन्तित बनेका छन्।
पछिल्लो समय यस क्षेत्रमा हात्तीको आक्रमण बढ्दै गएको छ, जसले गर्दा स्थानीय बासिन्दा त्रसित छन्। उनीहरूले आफूहरूलाई सुरक्षित राख्न र हात्तीको आतङ्क नियन्त्रणका लागि सम्बन्धित निकायसँग सहयोगको माग गरेका छन्। यसैबीच, पीडित परिवारलाई राहत तथा सहयोग पुर्याउने क्रममा वडा अध्यक्ष रतन सिंह विष्टले प्रभावित बासिन्दालाई पानी फिल्टर वितरण गरेका छन्। उनले उक्त क्षेत्रमा रातो र खान नमिल्ने पानी आउने भएकाले त्यसलाई शुद्धीकरण गरी स्वच्छ खानेपानीको व्यवस्था गर्न सहयोग गरिएको बताएका छन्।











Discussion about this post