बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-४, देवलहाटस्थित पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिरको प्राङ्गणमा यस वर्ष पनि गौरा पर्वको अवसरमा विशेष लाखेनाच कार्यक्रम आयोजना गरिने भएको छ।
पञ्चपरौली समाजले आयोजना गर्न लागेको यो कार्यक्रम भदौ १५ गते दिउँसो १२ बजेदेखि सुरु हुनेछ। परापूर्वकालदेखि नै देवलहाटमा गौरा पर्वको अठ्यावालीका दिन लाखेनाच देखाउने परम्परा रहेको छ। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि लाखेनाचको प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ।
गौरा पर्वको अवसरमा विभिन्न स्थानमा ऐतिहासिक खेल र नाच प्रदर्शन गरिने भए पनि देवलहाटको लाखेनाच भने विशेष र अनौठो मानिन्छ। यस नाचमा स्थानीय भट्ट र मार्कण्ड जाति समुदायका पाँचदेखि सात जना व्यक्तिले शरीरमा लुगा नलगाई विभिन्न रुखका पात, तरुलका लहरा र केराका पातले ढाकेर प्रदर्शन गर्छन्। उनीहरूले हातमा त्रिशूल समातेर नाच्ने गर्छन् भने शरीरमा कमेरो, रातो माटो र खरानीको टीका लगाउने चलन पनि छ। नाच सुरु गर्नुअघि उनीहरू मन्दिर नजिकै रहेको सुकनाली कुवामा स्नान गर्ने गर्छन्।
पञ्चपरौली समाजले यस विशेष कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण स्थानीय, पत्रकार, शिक्षक, व्यापारी, कर्मचारी, बुद्धिजीवी र संस्कृतिप्रेमीहरूलाई हार्दिक अनुरोध गरेको छ।
(यो समाचार स्थानीय उद्धव सिहंले दिएको जानकारीको आधारमा तयार गरिएको हो।)










Discussion about this post