कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ स्थित छ लेन सडक (भाइरल रोड) को सौन्दर्य बढाउन रोपिएका बिरुवाहरूको संरक्षणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको छ। वडा कार्यालयको अगुवाइमा विभिन्न संघसंस्था र स्थानीयको सहभागितामा सञ्चालन गरिएको यस अभियानले सडक किनारका बिरुवालाई सफा र सुरक्षित बनाउने लक्ष्य राखेको छ।

आज शुक्रबार करिब ३० प्रतिशत क्षेत्रमा गरिएको सरसफाइले सडकको दुवैतिर जमेको प्लास्टिक, झारपात र अन्य फोहोर हटाइएको छ। वडा अध्यक्ष प्रकाश थापाले बढ्दो सहरीकरणसँगै सडकमा फोहोरको मात्रा पनि बढेको र यसले बिरुवाहरूको वृद्धिमा बाधा पुर्याइरहेको बताए। ‘यो सडक महेन्द्रनगरको मुहार हो,’ उनले भने, ‘यहाँका बिरुवाहरूको संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व हो। यसलाई हामीले निरन्तरता दिनेछौँ।’
अध्यक्ष थापाले फोहोरले बिरुवालाई मात्र नभई वातावरणमा समेत नकारात्मक असर परिरहेको र यसले सहरको सौन्दर्यमाथि पनि प्रश्न उठाएको बताए। उनले सबैको सहकार्यबिना यस क्षेत्रलाई सफा राख्न नसकिने भएकाले यो अभियान सुरु गरिएको जानकारी दिए।
सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न स्थानीय संघसंस्था, श्री सिद्धनाथ अमर माविका कक्षा ९ र १० का विद्यार्थी, शिक्षक तथा भीमदत्त नगरपालिकाका सरसफाइकर्मीहरूको सहभागिता रहेको थियो।

भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले सडक किनारमा जम्मा हुने फोहोरले पानीको निकासलाई अवरुद्ध गरी वर्षाको समयमा डुबानको जोखिम बढाउने बताए। उनले यस्ता सरसफाइ कार्यक्रमले विपद्को जोखिम न्यूनीकरण गर्न प्रत्यक्ष सहयोग पुग्ने जानकारी दिए।
त्यसैगरी, वातावरण अधिकृत सविन रावलले यस्ता अभियानले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। ‘प्लास्टिकजन्य फोहोरले माटोको उर्वराशक्ति घटाउँछ र बिरुवाको वृद्धिमा बाधा पुर्याउँछ,’ उनले भने, ‘हामीले यसलाई सफा गरेर बिरुवाको दिगो संरक्षणमा योगदान पुर्याएका छौँ।’
स्थानीयवासीहरूले पनि यस अभियानको प्रशंसा गरेका छन्। उनीहरूले अब सडकमा फोहोर नफ्याँक्ने प्रतिबद्धता जनाएका छन्। सरसफाइ अभियानपछि अब बिरुवाहरूलाई नियमित रूपमा हेरचाह गर्ने र बाँकी रहेको क्षेत्रमा पनि सरसफाइ गरिने वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष थापाले आगामी दिनमा सडकलाई थप हरियाली र आकर्षक बनाउन अन्य योजनाहरू पनि ल्याइने बताए।










Discussion about this post