कञ्चनपुर – हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम छ, जसका कारण देशभर बदली भई वर्षाको सम्भावना बढेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले यसको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसोको मौसम
आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। सबै प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आज रातिको मौसम
आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रका धेरै ठाउँमा तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।










Discussion about this post