कञ्चनपुर । “क्लिन महेन्द्रनगर, ग्रिन महेन्द्रनगर” अभियानअन्तर्गत आज शनिबार महेन्द्रनगर बजारका विभिन्न ठाउँहरूमा बृहत् सरसफाई गरिएको छ।
पावर अफ युथ, भीमदत्त नगरपालिका र वर्ल्डिङ्को सहकार्यमा सञ्चालित यो सरसफाई अभियानले महेन्द्रनगरलाई सफा र हरियाली बनाउने लक्ष्य लिएको छ। सरसफाई कार्यक्रम महेन्द्र स्मारकदेखि तरकारी बजार र सब्जी मण्डीसहितका मुख्य क्षेत्रहरूमा केन्द्रित थियो।
भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावलले यो सरसफाई अभियानले जनचेतना अभिवृद्धि गर्नुका साथै महेन्द्रनगरका भित्री क्षेत्रहरूलाई सफा राख्न मद्दत पुग्ने बताउनुभयो। उहाँले स्थानीय नागरिकहरूले पनि अभियानमा साथ र ऐक्यबद्धता जनाउनुपर्ने र आ-आफ्नो क्षेत्र आफैँले सफा राख्ने हो भने फोहोर धेरै नहुने कुरामा जोड दिनुभयो।
पावर अफ युथका सदस्य अंकित जोशीले महेन्द्रनगरलाई सफा राख्नु सबैको साझा दायित्व भएको बताउँदै यस्ता अभियानले समुदायमा सकारात्मक ऊर्जा भर्ने काम गरेको उल्लेख गर्नुभयो। उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एनएनएसडब्लुएका पूर्वसूचना तथा पूर्व कार्य (EWEA) अधिकृत भोजराज भट्टले सफा वातावरणले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता सरसफाई अभियानहरूको महत्त्व अतुलनीय रहेको बताउनुभयो। उहाँले केवल एक दिनको सरसफाईले मात्र नपुग्ने र दैनिक व्यवहारमा नै सरसफाईलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
सरसफाई अभियानमा नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। यस अभियानले महेन्द्रनगरलाई स्वच्छ र सुन्दर बनाउन सामुदायिक सहकार्यको महत्त्व दर्शाएको छ।










Discussion about this post