कञ्चनपुर । प्रेस सेन्टर नेपाल, सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठक कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त बैठकले सांगठनिक तथा सामाजिक विषयहरूमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष केशव जोशीको अध्यक्षतामा बसेको बैठकमा आम नागरिकका मुद्दा उठानदेखि श्रमजीवी पत्रकारको हकहित र सुरक्षाका विषयमा जोड दिइएको थियो। बैठकले विशेष गरी भारतले नेपालको दार्चुला र कञ्चनपुरलगायतका जिल्लाहरूमा गरेको सीमा अतिक्रमणका विषयमा समेत गहन छलफल गरी स्पष्ट अडान लिने निर्णय गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले प्रेस सेन्टरले सधैं पत्रकारको हकहित, अधिकार र स्वतन्त्रताको पक्षमा लड्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “आजको समयमा पत्रकारितालाई सुदृढ बनाउँदै राष्ट्रिय चासोका विषयमा स्पष्ट अडान लिनु जरुरी भइसकेको छ।” अध्यक्ष गिरीले भारतीय अतिक्रमणविरुद्ध प्रेस जगत एकजुट हुनुपर्नेमा विशेष जोड दिनुभयो।
बैठकमा विशिष्ट अतिथि ओमविक्रम भाट ‘सरल’, अतिथि केशव योगी, केन्द्रीय उपाध्यक्षहरू रामसिंह ठगुन्ना र लक्ष्मण खड्का, महासचिव मनोज घर्तीमगर, उपमहासचिव हरिष विक र सचिव राजेन्द्र अवस्थीलगायत केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो। बैठकमा संगठनात्मक सुदृढीकरण, पत्रकार सुरक्षा, र पेसागत चुनौतीहरूका बारेमा व्यापक छलफल भएको थियो।
बैठकमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी पत्रकार नेताहरूले स्थानीय स्तरमा पत्रकारमाथि हुने हिंसा र दुर्व्यवहारका घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षलाई सचेत गराएका छन्।
प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशले बैठकबाट पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावनाका विषयमा गहन छलफल गर्दै आगामी कार्यदिशा तय गरेको जनाएको छ। संगठनले केवल आन्तरिक सुदृढीकरणमा मात्र नभई, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता संवेदनशील विषयमा पनि पत्रकार र आम नागरिकले आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिएको छ।
बैठकले आम नागरिकको आवश्यकता र बदलिँदो समयअनुसार पत्रकारितामा आवश्यक परिवर्तनको खाँचो रहेको समेत औंल्याएको छ। प्रेस सेन्टर सुदूरपश्चिमले पत्रकारको हकहितसँगै राष्ट्रिय स्वतन्त्रताको पक्षमा पनि दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।










Discussion about this post