कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशभर पश्चिमी वायु, स्थानीय वायु, साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहनेछ। यसले देशका विभिन्न भू-भागमा मौसममा परिवर्तन ल्याउने अनुमान गरिएको छ।
दिउँसोको मौसम:
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च-पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
रातको मौसम:
आज राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मेघगर्जन र चट्याङको जोखिमलाई मध्यनजर गर्दै बाहिरी गतिविधिमा सतर्कता अपनाउन र उच्च-पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा मौसमको जानकारी लिन विभागले अनुरोध गरेको छ।










Discussion about this post