कञ्चनपुर – वेदकोट नगरपालिकाले नगरवासीलाई आगलागी तथा हावाहुरीजन्य घटनाबाट सुरक्षित रहन सतर्कता अपनाउन आग्रह गरेको छ। गर्मी र सुख्खा मौसम सुरु भएसँगै आगलागी तथा हावाहुरीजन्य जस्ता घटनाको जोखिम बढेको भन्दै नगरपालिकाले सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको हो।
नगरपालिकाले बिहिबार जारी गरेको सूचनामा आगलागी, पशु सेवा, कृषि, जल स्रोत, वातावरण प्रणालीमा असर पार्ने वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी जोखिमबाट जोगिन विभिन्न सावधानी अपनाउन आग्रह गरिएको छ। सूचनामा भान्सामा प्रयोग भएको आगो राम्ररी निभाउन, ग्यास प्रयोगपछि बन्द गर्न, लाइटर सुरक्षित राख्न, हाई भोल्टेज तारको सम्पर्कबाट टाढा रहन र विद्युतीय उपकरण प्रयोगमा सावधानी अपनाउन सुझाइएको छ।
यस्तै, घर वरपरको झाडी सफा गर्ने, आगलागी हुन सक्ने वस्तु हटाउने, पशु चराउँदा बिजुलीको तारबाट टाढा राख्ने र हावाहुरी वा आगलागीबाट प्रभावित भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न नगरपालिकाले सुझाव दिएको छ।
नगरपालिकाले आपत्कालीन अवस्थामा सम्पर्क गर्न वडा स्तरका कार्यालय, स्वास्थ्य चौकी, दमकल र सुरक्षाकर्मीको टेलिफोन नम्बर पनि सूचनामा समावेश गरेको छ। थप जानकारी वा सहयोगका लागि ११५५ नम्बरमा फोन गर्न सकिने जनाइएको छ।
नगरवासीको सुरक्षालाई ध्यानमा राख्दै वेदकोट नगरपालिकाले सबैलाई सजग र सचेत रहन अपिल गरेको छ।










Discussion about this post