प्रेममा पनि ज्यान जान्छ समर बन्दै छ
लोग्ने-स्वास्नीको झगडा खबर बन्दै छ
आउनेहरूले चोट मात्रै दिएर जान्छन्
बिस्तारै मासुकै मुटु पनि पत्थर बन्दै छ
सबै आधुनिक मान्छे बन्न खोजेर होला
पोषण भनेर खायो त्यही जहर बन्दै छ
गाउँका घरहरू खण्डहर भए रित्तिएर
सहरतिर भने खोल मिचेर घर बन्दै छ
घर भएको पनि मान्छे सुकुम्बासी भयो
घुम्दाघुम्दै यो जिन्दगी यायावर बन्दै छ
– धर्मानन्द भट्ट