कञ्चनपुर । कञ्चनपुरमा क्षेत्र नं. २ स्तरीय खुला पुरुष डबल्स तथा यु-१५ पुरुष सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। वेदकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने नाराको साथ प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ। वेदकोट नगरपालिका -३ मा रहेको ब्याडमिन्टन कोर्टमा सञ्चलन हुने प्रतियोगितामा वेदकोट ब्याडमिन्टन संघको सहकार्य रहेको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा नगर खेलकुद विकास समितिका अध्यक्ष प्रजापति भट्टको सभापतित्व रहेको थियो भने वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा बोल्दै वेदकोटका नगर प्रमुख भोजराज बोहराले जुनसुकै उमेर समुहका व्यक्तिले पनि ब्याडमिन्टन खेल खेल्न सक्ने भएकाले सबैमा लोकप्रियता बढ्दै गएको बताए । नगर प्रमुख बोहराले खेलकुदले स्वास्थ्यको लागि समेत ब्याडमिन्टन खेलको आवश्यकता रहेकाले प्रतियोगिता महत्वपूर्ण रहेको बताउँदै सहभागी खेलाडीहरूलाई शुभकामना समेत व्यक्त गरे । साथै उनले शारीरिक र मानसिक रुपमा नै स्वस्थ बनाउने बताउँदै ब्याडमिन्टन लगायत खेलकुद प्रतियोगिताहरूलाई नगरपालिकाले निरन्तरता दिने प्रतिवद्धता गरेका छन्।
त्यसैगरी नगर खेलकुद विकास समितिका अध्यक्ष प्रजापति भट्टले अहिलेको अवस्थामा युवा बढीजसो समय मोबाइलमा हुने भएको हुँदा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न प्रतियोगिताको आयोजना गरिएको बताए। साथै उनले वर्तमान समयमा लागूऔषधको समेत भयावह अवस्था रहेको हुँदा यस्ता प्रतियोगिताले केही हदसम्म निर्मूल गर्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा आगामी दिनमा पनि विभिन्न प्रतियोगिताको आयोजना गरिने बताए।
प्रतियोगितामा यु-१५ मा ८ टिम र खुला पुरुष डबल्समा ३६ टिमले सहभागिता लिएका छन्। खुलातर्फ प्रथम पुरस्कार २१ हजार, द्वितीय पुरस्कार ११ हजार तृतीय पुरस्कार ४ हजार र सान्त्वना पुरस्कार ४ हजार रहेको छ भने यु-१५ मा प्रथम पुरस्कार २ हजार द्वितीय पुरस्कार ११ सय तृतीय पुरस्कार ५ सय र सान्त्वना पुरस्कार ५ सय रहेको आयोजकले जनाएको छ।
