कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०१ हात्तीथलामा जारी सातौँ आदर्श क्रिकेट कप सम्पन्न भएको छ। बुधबार प्रतियोगिताको समापन गरिएको छ। समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाको प्रमुख आतिथ्य रहेको थियो भने आदर्श युवा क्लबका कार्यवाहक अध्यक्ष राम बहादुर बोहराको सभापतित्व रहेको थियो।
आदर्श युवा क्लबको आयोजनामा असोज २२ गते देखि सञ्चालन भएको प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको क्लबका सचिव तेजेन्द्र धामीले जानकारी दिएका छन्। प्रतियोगितामा वेदकोट नगरपालिका भित्रका १३ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको उपाधि वेदकोट -७ ले जितेको छ। फाइनल खेलमा वेदकोट -७ र वेदकोट -८ बिच प्रतिस्पर्धा भएको थियो। वेदकोट -७ ले वेदकोट -८ लाई १८ रनले हराउँदै प्रतियोगिताको विजेता बनेको हो। फाइनल खेलका म्यान अफ द म्याच वेदकोट -७ का तिल बोहरा भएका छन्।

प्रतियोगिताको विजेता टिमलाई क्रमश रू १ लाख १ सय नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेता टिमलाई ५० हजार ५० नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको क्लबका सचिव धामीले बताएका छन्।
प्रतियोगिताका सर्वोत्कृष्ट ब्याट्सम्यान र प्लेयर अफ द सिरिज वेदकोट -७ का सुरज बोहरा भएका छन् उनले प्रतियोगितामा २१८ रन र १० विकेट लिएका छन्। सर्वोत्कृष्ट बलर वेदकोट -८ का सन्तोष ऐर भएका छन्न उनले प्रतियोगितामा ११ विकेट लिएका छन्। प्रतियोगिताका वेदकोट -३ का खेलाडी खेम बिष्ट उदीयमान खेलाडी बनेका छन्। प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
