बैतडीको प्रसिद्ध पाताल भुवनेश्वर धाम क्षेत्रमा मदिरा निषेध गरिएको छ । महाशिवारत्रीको अवसरमा धाममा ठूलो मेला लाग्ने भएकाले मदिरा निषेधित क्षेत्र घोषणा गरिएको सिद्धनाथ –पातालभुवनेश्वर धार्मिक वन समितिका सचिव मोहनबहादुर बिष्टले बताए ।
महाशिवरात्रीको दिनमा पाटन नगरपालिका वडा नं ४ र सुर्नया गाउँपालिका वडा नं २ को सम्पूर्ण क्षेत्रमा मदिराको कारोबारमा रोक लगाएको बिष्टले बताए । मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भएकाले मेलास्थल आसपासमा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए ।
कसैले समितिको सूचना उल्लंघन गरी मदिराको कारोबार र सेवन गरेमा ५ हजार जरीवनासहित कानुनी कारवाही गरिने समितिका सचिव बिष्टले बताए । उनले भने ‘हामीले मेलास्थललाई शान्त र मार्यादित बनाउन मदिरा निषेधित क्षेत्र घोषणा गरेका छौं । कसैले सूचनाको उल्लंघन गरेमा कानुनी कारवाही हुन्छ ।’
पाताल भुवनेश्वर धाममा लाग्ने मेलामा हजारौं दर्शनार्थीहरु पुग्ने भएकाले मेलास्थलमा सरसफाइ गर्नुका साथै अन्य तयारी समेत भएको बिष्टले बताए । मेलालाई व्यवस्थित बनाउन स्वयंसेवकहरु समेत खटाउने तयारी भएको छ । सगुन खबर बाट सभार