अत्यधिक चिसोका कारण जिल्लाको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ।
चिसो बढेसँगै यो क्षेत्रको तापक्रम घटेर माइनस १० डिग्री सेल्सियससम्म पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए।
चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनन्दिन कष्टकर बनेको स्थानीय दामु शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ। यसका कारण पिउने पानी आपूर्तिमा समस्या भएको छ।
खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन्। अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द छ।
यो पटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श्रेष्ठको भनाइ छ। थाहा खबर बाट सभार