
कञ्चनपुर । स्थानीय तहमा उपप्रमुखका समस्या सहज रूपमा सम्पादन गराउन साझा अभ्यास समूह विषयक एक दिने अन्तर्क्रिया कार्यक्रम कञ्चनपुरको पुनर्वास नगरपालिकामा गरिएको छ । प्रादेशिक सुशासन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजना तथा पुनर्वास नगरपालिका सहआयोजक रहेको कार्यक्रममा प्राविधिक सहयोग सुशासनका लागि क्षमता विकास कार्यक्रम (CDSOH) काठमाण्डौले गरेको थियो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सुशासनका लागि क्षमता विकास केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक पशुपति नाथ झाले पालिकाहरूमा मेयर उपमेयर वा अध्यक्ष उपाध्यक्ष बिचको सम्बन्धलाई नजिक बनाउन स्थानीय तहमा हुने विकासका कार्यक्रममा समान सहभागिताका लागि पहल गर्ने तथा उपप्रमुखहरू बिच हुने विभिन्न अनुभव साटासाट गर्ने र उप प्रमुखले गर्नुपर्ने जिम्मेवारी सम्पादनमा सहजता ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा उल्लेख गर्नुभयो । अनुभव साटासाट गर्दै गर्दा कुनै जटिल समस्या आइपरेमा स्थानीय तह कार्य सम्पादनसँग सम्बन्धित विज्ञ बोलाई परामर्श गराउने समेत कार्यक्रमको उद्देश्य रहेको संयोजक झाले बताउनु भयो ।


यसैबिच नेपालगन्ज उपमहानगरपालिका पूर्व उपप्रमुख उमा थापामगरले स्थानीय तहमा उपप्रमुखका समस्या र चुनौतीका विषयमा आफूले भोगेका समस्याहरूसँग सम्बन्धित सहजीकरण गर्नुभयो । सो अवसरमा कैलाली र कञ्चनपुरका सबै स्थानीय तहका उपप्रमुखहरूले आआफ्ना अनुभवहरू सुनाउनु भयो ।कार्यक्रममा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले लामो समय जनताकै सेवामा आफूलाई समर्पित गर्दै आएको र जनताले अमूल्य अभिमत दिएर निर्वाचित गरेपछि थप जिम्मेवारीका साथ जनताकै पक्षमा सक्रिय हुँदै आएको धारणा राख्नुभयो । कार्यक्रम गर्दा मेयर उपमेयर वा अध्यक्ष उपाध्यक्षलाई एक ठाउँमा सहभागी गराउन सकिएमा स्थानीय सरकार सञ्चालनमा अझ सहज हुने कुरा उपाध्यक्ष नाथले सुझाव दिनुभयो ।
पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले स्थानीय तहमा हुने हरेक कार्यक्रमहरू, स्थानीय तहले सम्पादन गर्ने हरेक विषयहरू खुला रूपमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयो । पाँच वर्ष भित्र कसरी जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने कुरा सधैँ मनन गर्नुपर्ने उपप्रमुख रानाले आफ्नो धारणा व्यक्त गर्नुभयो । आफ्नो अधिकार क्षेत्रलाई ध्यान दिएर स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको सदुपयोग गरी काम गर्यो भने काम गर्न बढी सहज हुने रानाले बताउनुभयो । उहाँले अरूको असल अभ्यासलाई समेत अङ्गीकार गरेर, आत्मसात् गरेर बढ्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा उपप्रमुख भुलिया कुमारी रानाले कार्यक्रममा सहभागी पालिका उपप्रमुखहरूलाई भेट स्वरूप पुनर्वास नगरपालिकालाई परिचित गराउने विभिन्न तस्बिर समेटिएको मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा कञ्चनपुर र कैलालीका उपप्रमुखको सञ्जाल गठन गरी प्रत्येक महिनामा २२ वटै पालिकामा सञ्जालको साझा अभ्यास कार्यक्रमको आयोजना गरिने निर्णय समेत पारित गरिएको छ । माघको अन्तिम साता बेलडाँडी गाउँपालिका र फागुनको अन्तिम साता बेलौरी नगरपालिकामा उक्त कार्यक्रम गरिने उपप्रमुख सञ्जालले जनाएको छ । नेपालबोध डटकम बाट सभार
