
बैतडीको सिगास गाउँपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएको छ । गाउँपालिकाभित्र बालविवाह गर्नेको संख्या बढी भएकाले त्यसलाई रोक्नका लागि योजना बनाएर अघि बढ्ने उद्देश्य सहित रणनैतिक योजना निर्माण गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।
बालविवाह एक सामाजिक समस्याको रुपमा रहेकाले त्यसलाई रोक्नका लागि पालिकाले रणनैतिक योजना बनाएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले बताए ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भिएसओ र पिसवीन समेतको सहकार्यमा बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाइएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताए । बालविवाहका कारण किशोरकिशोरीहरुको शिक्षा ग्रहणमा समेत बाधा पुगीरहेकाले बालविवाहलाई पूर्णतया रोक लगाउन योजना बनाइएको उनले बताए । उनले भने ‘बालविवाहले किशोरकिशोरीहरुको जीवनमा नै समस्या ल्याउने भएकाले यसलाई रोक्नका लागि हामीले रणनैतिक योजना बनाएका छौं । योजना अनुसार बालविवाह अन्त्यका लागि गाउँपालिकाको प्रयास रहन्छ ।’

गाउँपालिकाले बनाएको रणनैतिक योजना कार्यपालिकामा पेश भइसकेको र अबको गाउँसभाबाट पारित गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष धामीले बताए । उनले भने ‘बालविवाह जस्ता हानिकारक प्रचलन अन्त्यका लागि हामीले प्रयास गरिरहेका छौं । त्यही प्रयास स्वरुप हामीले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएका हौं ।’
सरकारले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले सोही अनुसार बालविवाह अन्त्यका लागि पालिकाहरुले रणनैतिक योजना बनाइरहेका छन् । बैतडीमा यसअघि पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाइसकेका छन् । यस्तै दशरथचन्द नगरपालिकाको पनि बालविवाह अन्त्यका लागि रणनैतिक योजनाको मस्यौदा तयार भइसकेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
बैतडीमा रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेका पालिकाहरुमा बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने कार्यमा सहयोग गरिरहेको पीसवीनका फिल्ड सुपरभाइजर कृष्णदत्त भट्टले बताए । सगुन खबर बाट सभार
