सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चितुवाले आक्रमण गर्न थालेपछि बैतडीको तल्लोसोराडमा त्रास, बालबालिकालाई विद्यालय पठाउनै सकस

बैतडीको शिवनाथ गाउँपालिका वडा नं ६ बसेडीमा मंगलबार विद्यालय गइरहेका एक बालकमाथि चितुवाले आक्रमण गरेपछि अहिले त्रासको वातावरण सिर्जना भएको छ । वडा नं ६ का १३ बर्षीय पारस धनाडीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

धनाडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारपछि घर ल्याइएको छ । यस्तै सोमबार राति सोही ठाउँका ६८ बर्षीय बहादुर दमाईलाई पनि चितुवाले आक्रमण गरि घाइते बनाएको थियो ।

एकै गाउँका दुईजनालाई दुई दिन लगातार आक्रमण गरेपछि अहिले गाउँमा त्रासको वातावरण सिर्जना भएको शिवनाथ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष भरतराम पार्कीले बताए । चितुवाले बारम्बार आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका उनले बताए । उनले भने ‘अहिले हाम्रो क्षेत्रमा चितुवा आक्रमणको त्रास छ । पहिला पनि चितुवाले मानवीय क्षति पुर्याएको हुनाले स्थानीयबासी डरमा बाँचिरहेका छन् ।’

World Link Ads
Mahakali Polytechnic

स्कुले बालबालिकाहरुलाई चितुवाले आक्रमण गर्न थालेपछि अहिले अभिभावकहरु बालबालिकाहरुलाई विद्यालय पुर्याउन आँफै जान थालेका छन् । विद्यालय गइरहेका एकजना गाउँका बालकमाथि चितुवाको आक्रमण भएपछि अहिले बालबालिकाहरुलाई विद्यालय पुर्याउन आँफै जाने गरेको शिवनाथ ६ की सीता पार्कीले बताइन् । उनले भनिन् ‘बालबालिकाहरुलाई एक्लै विद्यालय पठाउन निकै डर छ । त्यसैले हामी आफ्ना बालबालिकाहरुलाई विद्यालय पुर्याउन जाने गरेका छौं ।’

Dirghayu Ads
Sana Kishan

चितुवाले आक्रमण गर्न थालेपछि बालबालिकाहरुमा त्रास देखिएकाले अभिभावकहरु आँफै विद्यालय सम्म पुग्न थालेका हुन् । स–साना नानीबाबुहरुलाई विद्यालय एक्लै पठाउन मुस्किल भएकाले आफूहरु विद्यालय सम्मै पुग्ने अर्का स्थानीय मोहनराम पार्कीले बताए । उनले भने ‘चितुवाले दिनदहाडै आक्रमण गर्न थालेको छ । त्यसैले बालबालिकाहरुलाई विद्यालय पठाउन आँफै गइरहेका छौं ।’

गत बर्षपनि चितुवाको आक्रमणबाट शिवनाथ ६ का दुई जना घाइते भएका वडा अध्यक्ष पार्कीले बताए । हरेक बर्ष चितुवाले मानवबस्तीमा पसेर क्षति पुर्याइरहेको हुनाले यसको दीर्घकालिन समाधान खोज्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘चितुवाले हरेक बर्ष मानवबस्तीमा त्रास फैलाउने गरेको छ । यो बिषयमा सरोकारवालाहरुसंग हामी पनि छलफल गर्छौं । यो समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’

बैतडीमा २०६८ साल यता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयको तथ्यांक छ । चितुवाले मानवबस्तीमा पसेर क्षति पुर्याउन थालेको एक दशक बढी भइसकेको छ । चितुवा र मानवबीचको द्वन्द बढ्दै गएपछि दुवै पक्षमा क्षति भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । २०७४ साल यता १२ ओटा चितुवा पनि मारिएका छन् ।

चितुवाको बासस्थान नष्ट हुनु, आहार प्रजाति नष्ट हुनु लगायतका कारणले चितुवा मानवबस्तीमा पसेको हुन सक्ने अनुमान गरिएको छ । तर यसका बिषयमा विज्ञहरुको अनुसन्धान बिना भन्न नसकिने कँडेलले बताए । अहिले फेरी चितुवा सक्रिय भएकाले चितुवाको आक्रमणबाट बच्ने उपाय अपनाउनुपर्नेमा उनले जोड दिए । भगीरथ अवस्थीले सगुनखबरमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.