महेन्द्रनगर । त्यो निरंकुश शाही सत्ताको समय थियो, राजनीतिक र नागरिक स्वतन्त्रता खोसिएका ती काला दिनहरुमा सत्ताकोबिरुद्ध बोल्नु भनेको गोली खानु थियो । महेन्द्रनगरमा यस्ता युवा पनि थिए, जसले नागरिक र राजनीतिक अधिकारका लागि चलिरहेको आन्दोलनमा गोली स्वीकारे । तर, झुकेनन् ।
ती युवा थिए, महेश प्रशाद पन्त । उनलाई तत्कालिन शाही नेपाली सेनाले महेन्द्रनगरको जनज्योती कलेज परिसरमा गोली हानेका थिए । ०६२÷०६३ सालको जन आन्दोलनका लागि विद्यार्थीहरुलाई संगठित गर्दै गरेको अवस्थामा पन्तलाई गोली हानिएको थियो ।
अहिले पनि उनको तिघ्रामा गोलीका छर्रा बाँकी नै छन् । जाडोमा खुट्टा दुखेर पीडा दिन्छ । धेरै बेर पैदल हिड्दा पनि उनलाई सास्ती हुन्छ । गोली लागेको शरीर लिएर पन्त अहिले भीमदत्त नगरपालिकाको मेयर पदका लागि मत माग्दै हिडिरहेका छन् ।
नेकपा (एमाले) का तर्फबाट मेयरमा उम्मेदवारी दिएका पन्तले यहाँसम्म पुग्नका लागि कम्ति संर्घष गरेनन् । जनज्योती क्याम्पसमा हुँदै गरेको कार्यक्रममा सहभागी हुदा सेनाले समातेर घोप्टो पारी ४ गोली प्रहार गरेको थियोे ।
करिब पाँच महिना बिरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गरेपनि अझै खुट्टामा ४०÷५० वटा गोलीका छर्रा झिक्न बाँकी रहेको पन्तले बताए ।
त्यो घटनापछि धेरै नगरबासीले उनलाई ‘जनज्योती काण्डका जिउँदो सहीद’ भन्ने गरेका छन् । पन्त राजनीतिक परिवारका सदस्य हुन् । उनका बुवा धर्मानन्द पन्तलाई नचिन्ने सायदै कोही होलान । सुदूरपश्चिमको ट्रेड आन्दोलनका संस्थापक मध्येका एक धर्मानन्द पन्तले सारा जीवन राजनीतिमा खर्चिएका थिए ।
बुवाकै प्रेरणाले राजनीतिमा लागेको बताउने महेश पन्त खेलकुद र शैक्षिक क्षेत्रका पनि अग्रणी युवा हुन् । राजनीतिमा लागेका धेरै जना पढेलेखेका छैनन् भन्ने आम मनोबिज्ञानबीच उनले दुई दुई बिषयमा डिग्री गरेका छन् ।
स्कुले जीवनबाटै अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आबद्ध भएर राजनीति सुरु गरेका पन्तले यसबीच विद्यार्थी, युवा, मजदूर र पार्टीका बिभिन्न पदहरुमा बसेर काम गरिसकेका छन् ।
अनेरास्ववियुको १८ औं सम्मेलनबाट केन्द्रीय सदस्य तथा महाकाली संयोजकमा निर्वाचित भएका थिए, उनी । २० औं सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य भए । खेलकुद विभाग प्रमुख भएर पनि काम गरे ।
२०६२ सालमा सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरको स्ववियू सभापति भएका पन्त विद्यार्थी माझ निक्कै चर्चित छन् ।
२०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनका घाइते पन्तले त्यसपछि पार्टीको जिल्ला राजनीतिमा प्रवेश गरेका हुन् । नेकपा (एमाले) को जिल्ला सल्लाहकार सदस्य, जिल्ला कमिटी सदस्य, जिल्ला सचिवालय सदस्य, नेकपा प्रदेश सदस्य भइसकेका उनलाई यसपाली एमालेले भीमदत्त नगरपालिकाको मेयरमा टिकट दिएको हो ।
राजनीतिसँगै शिक्षा र खेलकुद क्षेत्रमा पनि पन्तको बिशेष लगाव छ । खेलकुदमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक ल्याउन सफल पन्तले २०५५ सालमै करातेको ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । कलिलै उमेरदेखि पढाईमा मेहनती पन्तले शिक्षालाई प्राबिधिक, जनमुखी र सिपमुलक हुनुपर्छ भन्दै आवाज उठाउने गरेका छन् ।
राजनीतिलाई सेवामूलक र संस्कारिक बनाउन सकिन्छ भन्ने मान्यता राख्ने पन्तले शिक्षामा एमएड तथा कानुनमा एलएलबी गरेका छन् । उनले आफ्ना वुवा स्वर्गीय धर्मानन्द पन्तको प्रेरणाले राजनीतिमा आएको बताए ।
नेपाल ट्रेड युनियन महासंग सुदूरपश्चिमको संस्थापक मजदुर नेताका रुपमा रहेका धर्मानन्द पन्तले कर्मचारी आन्दोलनमा जागिर गुमाएका थिए । त्यसपछि मजदुर आन्दोलनमा जोडिएका थिए । राजनीति पारिवारिक बिरासतमै पाएका महेश पन्तले बैशाख ३० गते हुने स्थानीय तह चुनावमा भीमदत्त नगरपालिकाको मेयरमा जित हात पार्लान त ? सीमारेखा बाट सभार









Discussion about this post