

गृहमन्त्री बालकृष्ण खाँणले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले पहिले नै चुनावी गठबन्धन गर्ने सहमति भएकाले अहिले झगडा गर्न आवश्यक नरहेको बताएका हुन् ।
चुनावको नतिजा आफ्नो पक्षमा आउने गरी तयारी गर्नुपर्ने पनि खाँणको भनाइ छ । बैठकमा गृहमन्त्री खाँणले भने, ’शक्ति केन्द्रहरुले कम्युनिस्टहरुलाई मिलाउन खोजिरहेको सूचना छ। गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ । चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं। अहिले झगडा गर्नुपर्ने आवश्यक छैन।’


सत्ता गठबन्धन बन्ने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेकाले पनि अहिले त्यसबारेमा झगडा गर्न आवश्यक नभएको उनको भनाइ छ । ’ यो सत्ता गठबन्धन हुनेबेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेको थियो। त्यसैले अहिले गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा नगरौं।’

कांग्रेसमा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने÷नगर्ने विषयमा मतभेद देखिएको छ । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा जित हासिल गर्न कठिन हुने बताउँदै आएका छन् ।
नेता रामचन्द्र पौडेलले पनि एमालेलाई साइजमा ल्याउन पनि गठबन्धन आवश्यक रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउन नहुने भन्दै उनले गठबन्धन आवश्यक रहेको बताएका हुन् । नेता शेखर कोइराला र महामन्त्री गगन थापाले भने कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । नेता कोइरालाले भने गठबन्धन आवश्यक भए तल्ला कमिटीलाई नै निर्णयको अधिकार दिइनुपर्ने बताएका छन् । ekantipur.com बाट सभार
