माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले १२ बुँदे समझदारीलाई टेकेर फेरि जनयुद्ध गर्न सकिने बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले माओवादीलाई हराउनैपर्ने अभियानमा प्रतिक्रियावादीहरु लागेको बताए।
’अझै उनीहरु माओवादीलाई हराउनैपर्छ भनेर भित्रभित्रै धेरै चिज गरेका छन्। धेरै चिज गर्दैछन्। तर डराउनेपर्ने स्थिति छैन। हामी देशभरि अभियानमा छौं। १२ बुँदे भनेको टेक्ने ठाउँ हो, जहाँबाट फेरि आन्दोलन गर्न सकिन्छ,’ उनले भने।
उनले प्रतिक्रान्तिकारीका सपना फेरि एकपटक भत्किने दाबी गरे। जनयुद्धका सहिदहरुले, बेपत्ता योदाहरुले, घाइतेहरुले लडेर ल्याएको उपलब्धि जाली फटाहहरुले उल्ट्याउने प्रयास गरेको उनले बताए। ’उनीहरुले माओवादीलाई सखाप पार्न घेरा हाल्ने भनेका छन्। उनीहरुसँग देशीमात्र होइन, विदेशी प्रतिक्रियावादीहरु पनि मिल्दैछन्। सबै कुरा भन्न सम्भव छैन। तपाइँहरुले बुझ्नुहोला इशारमा,’ उनले भने।
उनले बच्चाको साँचो माया जन्माउने आमालाई मात्र हुने बताउँदै सौतेनी आमाहरुले बच्चा मार्ने प्रयास गरेको आरोप लगाए। ’बच्चाको साँचो माया बच्चा जन्माउने आमा–बुबालाई हुन्छ। सौतेनी आमालाई हुँदैन। सौतेनी आमाहरुले हाम्रो बच्चा मार्ने प्रयत्न गर्दैछन्। त्यसकारण खबरदारी गर्ने जिम्मा तपाइँ हाम्रै छ,’ उनले भने।
उनले एमसीसीलाई देखाएर गठबन्धन भत्काउने अर्को गठबन्धन बनाउने एमाले–कांग्रेसको प्रयासलाई विफल पारिदिएको बताए। ’माओवादीलाई देशभरिबाट बढार्ने षड्यन्त्र रचिएको थियो। सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिनेगरी एमसीसीको समाधान अहिलेलाई हल गरिएको छ,’ उनले भने। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post