सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिसोका कारण तराईको जनजीवन कष्टकर

320
Sana Kishan

विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण प्रदेश नं २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसो बढेपछि प्रदेश नं २ का विभिन्न तीन जिल्लाका विद्यालयमा बिदा दिइएको छ।

चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ। विगत तीन दिनदेखि घाम नलाग्ने, चिसो हावा चलेका कारण सर्वसाधारणहरु आगो बालेर दिन बिताउन बाध्य भएका छन्। चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ। चिसो बढेपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको जनकपुरका व्यापारीले बताएका छन्।

Arus

यसैबीच जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले जाडोको सुरुआत भइसकेकाले नागरिकलाई चिसोबाट जोगाउन तयारी अवस्थामा रहन जिल्लाभरिका स्थानीय तहलाई आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए। प्रजिअ बाँस्तोलाका अनुसार चिसो बढेसँगै विभिन्न चोकचोकमा आगो बाल्न दाउरा वितरण थालिएको छ भने जिल्लाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा, स्वीटर बाँड्न थालिएको छ।

सोमबार धनुषाको धनौजीस्थित राष्ट्रिय आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका २०० बालबालिकालाई स्वीटर बाँडिएको प्रजिअ बाँस्तोलाले बताए। जिल्लाका थप सामुदायिक विद्यालयका बालबालिकालाई स्वीटर बाँड्ने योजना रहेको प्रजिअ बाँस्तोलाको भनाइ छ। यसका साथै चिसोबाट प्रभावित विपन्न, गरिब परिवारलाई वितरण गर्न युनिसेफसँग कम्बल माग गरिएको उहाँले बताउनुभयो। अत्यधिक चिसो बढेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश नं २ सरकारले पनि आवश्यक तयारी थालेको छ।

‘‘चिसोबाट प्रभावितका लागि न्यानो लुगा र कम्बलको जोहो गरिरहेका छौँ”, प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भने, ‘‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरु गरेका छौँ, केही दिनभित्रै वितरण गर्नेछौँ।” यसवर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठदाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ।

Karnali Traders

‘‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख प्रत्यक्ष सम्पर्कमा छौँ”, मन्त्री साहले भने, ‘‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतका बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ।” शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उनले बताए।

यसैबीच गत पुस १६ गतेदेखि क्रमशः बढ्दै गएको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको भन्दै प्रदेश नं २ तीन वटा जिल्लाका सामुदायिक विद्यालयमा एकसाताका लागि बिदा दिइएको छ। बाक्लो हुस्सु, कुहिरो तथा पश्चिमी वायुले बढेको चिसोका कारण घरबाहिर निस्किन नसकिने अवस्था बढ्दै जाँदा प्रदेश नं २ को सर्लाही, पर्सा र महोत्तरी जिल्लाका सामुदायिक विद्यालयमा एकसाताका लागि बिदा दिएको हो।

महोत्तरीको सोनमा गाउँपालिकाले चिसोका कारण चार दिनका लागि पालिकाअन्तर्गत सम्पूर्ण विद्यालयमा बिदा दिइएको जनाएको छ। चिसोका कारणले विद्यार्थीलाई विद्यालय आउन समस्या भइरहेको भन्दै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा मङ्गलबारदेखि चार दिनका लागि विद्यालयमा बिदा दिएको सोनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार साहले जानकारी दिए।

वर्षे बिदाबाट कटौती हुने गरी आजदेखि २३ गतेसम्म पालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख साहले बताए। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.