कञ्चनपुर । महाकाली नदीको बाढीले क्षति पुर्याएको कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ। पुल पुनर्निर्माणको प्रारम्भिक प्रक्रिया अघि बढाउन सस्पेन्सन ब्रिज डिभिजनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग उक्त बजेट माग गरेको हो।
गत असोज १४ गते आएको बाढीले पुलको एउटा मुख्य स्तम्भ (पिल्लर) भत्काएपछि भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने उक्त पुलमा आवागमन पूर्ण रूपमा बन्द छ।
सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीका अनुसार पुनर्निर्माणको प्रारम्भिक काम अघि बढाउन पाँच करोड रुपैयाँ आवश्यक पर्ने भएकाले मन्त्रालयसँग बजेट माग गरिएको हो।
भत्किएको पिल्लर आसपास अझै पानीको बहाव रहेकाले माटो परीक्षण र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कठिनाइ भइरहेको उनले बताए। नदीमा पानीको सतह घटेपछि प्राविधिक अध्ययन पूरा गरी निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
यसअघि सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा गएको दुई सदस्यीय प्राविधिक टोलीले पुलको स्थलगत अध्ययन गरेको थियो। टोलीले बाढीका कारण पुलमा करिब सात करोड रुपैयाँ बराबरको क्षति पुगेको र पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको थियो।
अध्ययनका क्रममा भत्किएको पिल्लरसँगै त्यसको दायाँ र बायाँतर्फ रहेका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको थियो।
मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित उक्त झोलुङ्गे पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले यसअघि नै एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।
पुल पुनर्निर्माण सम्पन्न भएपछि भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका स्थानीयको आवतजावत सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post