टर्कीएको अन्ताल्यामा दुई सातासम्म चलेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) सम्पन्न भएको छ।
सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन तथा जलवायु वित्तका विषयमा विभिन्न प्रतिबद्धता व्यक्त भए पनि अध्यक्षताद्वारा प्रस्तुत समग्र राजनीतिक निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न सकेन।
सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले सहमति कायम हुन नसक्नु निराशाजनक भएको बताउनुभएको छ।
जलवायु परिवर्तनको असर विश्वभर गम्भीर बन्दै गएको र विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुग्ने जोखिम बढिरहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
स्टिलले पछिल्लो एक दशकमा जलवायु वार्तामार्फत तापक्रम वृद्धिको लक्ष्य निर्धारण, जलवायु वित्त, जीवाश्म इन्धनबाट न्यायोचित रूपान्तरण तथा जलवायु अनुकूलनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो।
सम्मेलनको औपचारिक वार्तामा अपेक्षित सहमति जुट्न नसके पनि कृषि तथा खाद्य प्रणाली, सहर र पूर्वाधारको उत्थानशीलतालगायत छवटा प्रमुख कार्यक्षेत्रमा प्रगति भएको उहाँको भनाइ छ।
जलवायु सङ्कटको सामना गर्न विश्वका सबै राष्ट्रबीच सहकार्य, साझा प्रतिबद्धता र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सन्देश दिँदै सम्मेलन सम्पन्न भएको छ।










Discussion about this post