काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका प्राकृतिक सम्पदाहरू जोखिममा पर्दै गएको बताएकी छन्। उनले साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षणका लागि सामूहिक सहकार्य र दृढ प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएकी छन्।
मंगलबार काठमाडौंमा आयोजित जङ्गली औषधीय बोटबिरुवाको व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय दिगोपन मञ्चलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भावी पुस्ताका लागि हिमाली प्राकृतिक सम्पदाको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताइन्।
उनले पर्वतीय क्षेत्रका समुदाय, विशेषगरी महिला, युवा, आदिवासी जनजाति तथा स्थानीय बासिन्दालाई संरक्षणबाट वास्तविक र न्यायोचित आर्थिक अवसर उपलब्ध गराउनुपर्ने धारणा राखिन्।
हिमाली प्राकृतिक सम्पदाबाट प्राप्त हुने लाभको समान वितरण सुनिश्चित गर्न पारदर्शी, जवाफदेही र कानुनसम्मत क्षेत्रीय अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, सन् २०२७ देखि २०३२ सम्मका लागि प्रस्तावित क्षेत्रीय सहकार्यको ढाँचा र कार्ययोजनाले राजनीतिक प्रतिबद्धतालाई व्यवहारिक सामूहिक कार्यमा रूपान्तरण गर्ने अवसर प्रदान गर्ने विश्वास उनले व्यक्त गरिन्।










Discussion about this post