३१ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् ।
सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे ।
लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए ।
अरू विषयमा आफू नबोल्ने भन्दै छोटो सम्बोधन गरेका देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने प्रष्ट पारे ।
सुगौली सन्धिदेखि नै काली (महाकाली) नदी पूर्वको भू(भाग नेपालको भन्ने प्रष्ट रहेको उनले बताए । देउवाले भने, ‘सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ ।
अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको छ । कसैले महाकाली पनि भन्छन् तर हामी उता काली नै भन्छौं । चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ । नेपालीमा भन्दा काली नदी नै हो त्यो ।’