विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमणबाट बिहीबारसम्म एक सय २५ देशका एक लाख २९ हजार सात सय ७५ जना संक्रमित भएका छन् । कोरोनाका कारण अहिलेसम्म संसारभर चार हजार सात सय ५१ जनाको मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये ६८ हजार ६ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । अधिकांश संक्रमित र मृत्यु हुने चीनका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना संक्रमणलाई महामारी घोषणा गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले पछिल्लो दुई सातामा चीनबाहिर १३ गुनाले कोरोना भाइरसको संक्रमण विस्तार भएको बताए । पछिल्लो समयमा कोरोनाबाट युरोपेली मुलुक सबैभन्दा बढी प्रभावित छन् ।
संक्रमण रोक्न भारतमा प्रवेशाज्ञा बन्द
कोरोना संक्रमण नियन्त्रण गर्न भारत सरकारले १५ अप्रिलसम्म सबै प्रवेशाज्ञा बन्द गरेको छ । बुधबार राति सरकारले एक सूचना सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्रा्ष्ट्रिय संस्था, रोजगार तथा परियोजना भिसामा भने छुट हुनेछ ।
यसअघि आप्रवासी भारतीयले पाउँदै आएको भिसाविना यात्राको सुविधा पनि १५ अप्रिलसम्म रोकिएको छ । पछिल्लो नियम बिहीबार मध्यरातबाट लागू हुनेछ । सरकारको पछिल्लो निर्णयले पर्यटन र होटेलका क्षेत्रमा प्रभाव पार्ने विज्ञले बताएका छन् ।
सरकारले विभिन्न सातवटा देशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने जनाएको छ । चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
भारतमा कोरोना भाइरसबाट ७३ जना संक्रमित छन् । तीमध्ये १६ जना इटालीका पर्यटक छन् । विश्व स्वास्थ्य संगठनले भारतलाई कोरोनाको दृष्टिले उच्च जोखिममा रहेको देशका रूपमा वर्गीकरण गरेको छ ।
यसैबीच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीका सम्पूर्ण विद्यालय, कलेज र सिनेमा हल मार्च ३१ सम्म बन्द गरिएको घोषणा गरेका छन् । कोरोना भाइरस नियन्त्रण गर्ने कदमस्वरूप दिल्ली सरकारले सो निर्णय गरेको केजरिवालले बताए ।
यसै महिनाको सुरुदेखि दिल्लीका प्राथमिक विद्यालय बन्द भएका थिए । मुख्यमन्त्री केजरिवालले भने, ‘३१ मार्चसम्म दिल्लीका सम्पूर्ण सिनेमा हल बन्द गरिनेछन् ।’