-डा. सविता सुवेदी
श्रीमान हजुरलाई कस्ती श्रीमती चाहियो ?
असल, ज्ञानी, सहनशील
हुँदा पनि
तर्क बहस गर्न नसक्ने ग्वाँजे हुन्छु
उत्तर फर्कायो भने नारी स्वभाव
हराएको हुन्छु
अनि जुधिन पुग्छु हजुरका फलानो फलानो साथीका
बुढीहरुसँग
यस्ता छन् उस्ता छन्
रामायणको कथालाई बेलिबिस्तार लगाउँदा लाग्ने समय
उनीहरुको प्रशंसा हजुरबाट सुन्दा सुन्दा
कानको जालीमा
पनि ठूला ठूला प्वाल परेर
ती अप्रिय शब्द
बिनाफिल्टर
सीधै दिलभित्र लाग्छन् अनि
सोध्न मन लाग्छ
होइन श्रीमान्, हजुरलाई कस्ती श्रीमती चाहियो ?
आँखीभौँ तानेका
परेला हालेका
कपाल काटेर खैरो हरियो के के रङ
ठाउँ ठाउँमा हावा खेल्ने प्वाल बनाएका
कोही त लुगा लगाएको हो कि नलगाएको घोरिएर
मात्र पत्तो लाग्ने केटीका
तस्बिर देखाउँदै
दुईवटा छोराछोरी कि आमा मलाई
जुधाउने हजुरसँग वाक्क म
पार्लर गएर कपाल, अनुहार
पसल गएर तिनै केटीले लगाएजस्ता
कपडा किनु भने पनि
नीति, नियमावली, मापदण्ड या निर्देशिका सबै
तयार गर्ने हजुर
हजुरलाई बुझ्न नसकेर ट्वाल्ल
परेको म
राम्री हुन खोज्दा पनि बेठिक
नराम्री भए पनि बेठिक
लौन भन्दिनुपर्याे
महोदय, हजुरलाई कस्ती श्रीमती चाहियो ?
मृत्यु र जीवनसँग जुधेर छोराछोरीको
जीवन सुरु गर्दै रेखदेख गर्दा गर्दै आफू र
आफ्नो शरीरको रूप बिग्रेको पत्तो
नपाएकी मलाई
मेरो शारीरिक बनावटमा
प्रश्न खडा गरेर
मेरो हविगत थाहा दिने हजुर
बच्चाबच्चीको पनि अपेक्षा राख्ने
अनि कुमारी केटीको जस्तो शरीर खोज्ने
मोटी भए नि नहुने
पातली भए नि नहुने
छोरा छोरी नपाए पनि नहुने
पाए पनि हजुरको ख्याल
कमी भएको
अनि मेरो शरीर बिग्रेको ठान्ने
स्वामी, हजुरलाई कस्ती श्रीमती चाहियो ?
घरको काम मात्रै गरेर
बसुँ भने पनि म
हजुरका लागि
दुब्ला तर भुँडे गाईभैँसी पालेको भन्दा पनि
बढ्ता हुन्छु
बाहिर काम गरूँ भने पनि
गैरजिम्मेवार
घमण्डी महामहिम हुन्छु
दुवै गर्दा
घर परिवार हजुरको रेखदेखमा भएका
कमजोरी खोतल्दै
किचकिच गरिरहने हजुर
अनि हजुरले चाहेजस्तो हुन नसकेकी म
भने जस्तो श्रीमती नभएर दुखी हजुर
हजुरको दुःख देखेर निराश म
यति मात्रै भनिदिनुपर्याे
प्यारा, हजुरलाई कस्ती श्रीमती चाहियो ?

फेसबुक भाइबर, टिकटक इत्यादिको
ज्ञान राखूँ भने पनि
हुँदैन
नराखूँ भने पनि
केही थाहा नभएको पाखे
नाच्न सिकूँ भने उत्ताउली
नजान्दा जोडी सुहाएन
कसैसँग बोलु हाँसु भने पनि
आँखा तर्ने हजुर
घोडालेझैँ कतै नहेरी
कसैसँग नबोलूँ भने पनि
असामाजिक हुन्छु
हुँदाहुँदा खाना खाने तरिका
पानी पिउने तरिका
नुहाउँदा, लुगा धुँदा जे गर्दा पनि बेठिक म
लौन सुन्न पाऊँ
ए हजुर, हजुरलाई कस्ती श्रीमती चाहियो ?
के गरूँ नगरूँ
सधैँ दोधार भएर
भित्रभित्रै भुटभुटिएर
पकाउन राखेको फलफूलभन्दा
बढ्ता गुम्सिएको म
हजुरको नजरमा राम्री हुन्छु
भन्दा भन्दा
राम्रो के हो छुट्याउन
तोरी र सर्सिउँ
अलग बनाउनुभन्दा पनि कठिन
परेर
केही गर्न नसकेर हालत खराब
भएपछि
यो प्रश्नलाई महत्त्व दिएर
उत्तरको आस गरेर कुरिरहेकी म
हजुरको ओठ चल्छ कि भनेर हेरिरहेकी छु
प्रिय श्रीमान्, हजुरलाई कस्ती श्रीमती चाहियो ?
राताेपाटिबाट साभार
