सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भैरवनाथ मन्दिरको जीर्णोद्धार: बाहिर चिटिक्क, भित्र धुजैधुजा

भक्तपुर : भक्तपुर नगरपालिकाले टौमढीस्थित भैरवनाथ मन्दिरको जीर्णोद्धार गरिरहेको छ। १ करोड ४६ लाख रुपैयाँको लगतमा जीर्णोद्धार भइरहेको छ। स्थानीय न्हुछेराम भेले अध्यक्षताको उपभोक्ता समितिमार्फत धमाधम जीर्णोद्धार भइरहेको छ। असारभित्र जीर्णोद्धार काम सम्पन्न गर्नुपर्नेछ।

०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पु¥याएको थियो। झिंगटीको छाना भूकम्पपछि हल्लिएर पानी चुहिने भएको थियो। भूकम्पले मन्दिरका भित्री गारो चिराचिरा मात्र पारेन कुनासमेत फाटिएका थिए। दलिन अड्याइएका लफ्फा काठ भाँचिएका छन्। भित्रका गुप्ती कोठामा राखिएका चौकोस उछिट्टिएका छन्। गारोसँगैका थाम धुजाधुजा छन्। मक्किएका थाम भूकम्पले हल्लाएर जुनसुकै बेला ढल्ने अवस्थामा पुगेका छन्। सानो भूकम्पले नै मन्दिर ढलाउन सक्छ। आँखीझ्यालका भित्री चौकोस बाँगिएका छन्।

मन्दिरका नाइकेहरूका अनुसार मन्दिर पूर्वतर्फ करिब ६ इन्च भासिएको छ। भक्तपुर नगरपालिकाले मन्दिरको बाहिरी स्वरूप मात्र जीर्णोद्धार गरेको उनीहरूले आरोप लगाएका छन्। नगरपालिकाले जीर्णोद्धारको बजेट छुट्याएपछि गठित उपभोक्ता समितिले बाहिरी काम मात्र गर्ने भनेपछि नाइकेले विरोध गरे। उनीहरूले जगसम्मै असर गरेकाले पूरै मन्दिर भत्काएर पुनर्निर्माण गर्नुपर्ने माग गरे। तर नगरपालिकाले पूरै भत्काएर पुनर्निर्माण गर्नु नपर्ने जनायो। ६ महिना जीर्णोद्धार सुरु हुन सकेन।

World Link Ads
Mahakali Polytechnic

नगरपालिकाले पुरातत्व विभागका पूर्वमहानिर्देशक सुदर्शनराज तिवारीको नेतृत्वमा क्षतिग्रस्त मन्दिरको अध्ययन गरायो। टोलीले मन्दिर अझै बलियो भएको प्रतिवेदन दिएपछि जीर्णोद्धार अघि बढ्यो। माथिल्लो तलाको जीर्णोद्धार भइसकेको छ। सुनको मोलम्मा लगाइएको गजुर र तामाको पाताको छाना चिटिक्क टल्काइएको छ। दोस्रो तलाको झिंगटीको छाना छाइएको छ। अब पहिलो तलाको छाना छाउने उपभोक्ता समितिले जनाएको छ।

Dirghayu Ads

जीर्णोद्धार भइरहँदा मन्दिर भासिने क्रम नरोकिएको नाइके माइला छुकाले बताए। जीर्णोद्धारका क्रममा मन्दिर अझै भासिएको उनले दाबी गरे। उनले मन्दिरको भुइँतला र पहिलो तलाको गारोका चिरा अझै फाटेको बताए। ‘जीर्णोद्धारको क्रममा तौल बढेर हो कि मन्दिरको बाहिरी गारोमा चिरा झन् फाटेको छ’, नाइके छुकांले भने, ‘मूलढोकासँगैका गारो अझै फाटिरहेको छ। ’

‘पहिले रौंजत्रा चिरा अहिले डोरी जत्रा भएका छन्’, उनले थपे, ‘पहिलो र दोस्रो तलमा माटो थपेर झिंगटी छाउनै बाँकी छ। यसले भार झन् बढ्छ। ’

Sana Kishan

भित्रको अवस्थाले मन्दिरमात्र होइन, पूजा गर्ने पुरोहित, नाइके र दर्शनार्थीसमेत असुरक्षित भएको उनको भनाइ छ। नाइके छुकांले मन्दिरको अवस्थाले निश्चिन्त भएर पूजा गर्न नसकिएको सुनाए।

‘मन्दिर बलियै छ’

भक्तपुर नगरपालिकाले भने मन्दिर केही इन्च भासिए पनि अझै बलियो भएको दाबी गरेको छ। सम्पदा शाखाका इन्जिनियर सूर्यभक्त खर्बुजाले गारोको मोटाइ ३–४ फिट भएकाले भूकम्पका रौंचिरादेखि डराउनुपर्ने अवस्था नभएको बताए।

‘मन्दिरको गारो तीनथरि इँटाको छ। बाहिर देखिने ठाउँमा दाँची अप्पा, भित्र माः अप्पा र बीचमा दुथा बाक्वः (टुक्रा इँटा) राखिएको छ’, इञ्जिनियर खर्बुजाले भने, ‘तीनथरिको इँटामा पनि मन्दिरको भार बाहिरी दाँची अप्पा र भित्री माः अप्पाले मात्रै लिए। भूकम्पले पनि बाहिरी र भित्री इँटालाई मात्रै असर गरेको देखियो। त्यसैले भित्र र बाहिर दुवैतिर भएका चौकोस उछिट्टिएको जस्तो देखियो। ’

उनले भित्री गारोहरूमा चिरा देखिए पनि मोटाइ धेरै भएको गारोको जोडाइ अझै बलियो भएको दाबी गरे। मन्दिर ढल्किए पनि भत्किहाल्न २०७२ वैशाख १२ को भन्दा ठूलै भूकम्प आउनुपर्ने जिकिर इञ्जिनियरको छ। ‘मन्दिर ढल्किँदैमा केही हुँदैन। यसले मन्दिरको महत्व, ऐतिहासिकता घटाउँदैन’, उनले भने, ‘इटालीको पिसामा ढल्किएको लिनिङ टावर अहिलेसम्म भत्किएको छैन। उल्टै उत्कृष्ट पर्यटकीय क्षेत्र बनेको छ। ’

मन्दिरमा रेट्रोफिटिङ गर्ने प्रविधि नभएकाले भैरवनाथ मन्दिरको भित्री भागको जीर्णोद्धार सजिलो नभएकोसमेत उनको भनाइ थियो। ‘भूकम्पको कम्पनको क्रममा कमजोर ठाउँबाट शक्ति बाहिरिने क्रममा गारोमा चिरा पर्ने हो’, उनले भने, ‘अब यी चिरा टालिए अर्को भूकम्पमा पुनः शक्ति बाहिरिने ठाउँ खोज्दै बढी कमजोर ठाउँमा प्रहार गर्छ। यसले मन्दिरलाई नै ध्वस्त बनाउन सक्छ। ’
याे खबर अन्नपुर्ण पाेस्टले छापेकाे छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.