जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायूको प्रभाव सक्रिय रहेको जनाउँदै आज देशभरि आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानहरूमा वर्षा हुने सम्भावना जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव स्पष्ट देखिएको छ भने कोशी, मधेश, बागमती, गण्डकी लगायतका पहाडी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा भने आंशिक बदलीको सम्भावना छ।
आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावनासमेत महाशाखाले औँल्याएको छ।
त्यस्तै, उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहनेछ।
रातिमा कोशी र मधेश प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको जोखिम कायमै छ।
मौसममा देखिएको परिवर्तन तथा सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानहरूमा असर पर्न सक्ने महाशाखाको चेतावनी छ ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दै विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा र यात्रा गर्नेहरूलाई विशेष ध्यान दिन आग्रह गरेको छ।










Discussion about this post