कञ्चनपुर – कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका-३ दैजीमा सरस्वती वाल सदन (तक्षशिला स्कुल) निजी विद्यालय सञ्चालनमा आएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दैजी क्षेत्रमा स्थापित यो विद्यालयले आगामी शैक्षिक सत्र २०८२ बाट औपचारिक रूपमा पठनपाठन सुरु गर्ने योजना बनाएको छ। विद्यालय सञ्चालकहरूले नयाँ उद्देश्य र योजनासहित ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्न यो पहल गरेको बताएका छन्।
विद्यालयले प्रक्रिया अघि बढाउन २० चैतदेखि फारम वितरण सुरु गरेको छ भने २८ चैत र २ वैशाखमा प्रवेश परीक्षा सञ्चालन गरी सोही दिनदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। सञ्चालकहरूका अनुसार विद्यालयले स्थानीय विद्यार्थी र अभिभावकको मागलाई सम्बोधन गर्नुका साथै गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
विद्यालयका प्रमुख कार्यकारी निर्देशक (सिइओ) हरिस डिसीले डेढ दशकको शिक्षा क्षेत्रको अनुभवलाई नयाँ ढङ्गले प्रस्तुत गर्न यो विद्यालय सञ्चालनमा ल्याइएको बताए। “हामीले दैजीमै सञ्चालित एभरग्रिन मण्टेश्वरीका विद्यार्थी र अभिभावकको मागअनुसार आधारभूत तहको विद्यालय स्थापना गरेका हौँ,” उनले भने। “यहाँका विद्यार्थी टाढा-टाढा पढ्न बाध्य छन्, त्यसैले हामीले स्थानीय स्तरमै सीप, संस्कार र प्रविधियुक्त २१औँ शताब्दीको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राखेका छौँ।” उनले हरेक कक्षामा एसी, विद्यार्थीमैत्री वातावरण, अडियो-भिजुअल सुविधा, सिसिटिभी क्यामेरा, खेलकुद मैदान र नियमित अतिरिक्त कक्षाहरू सञ्चालन गरिने जानकारी दिए। “हामी आजका शिशुलाई २०-२५ वर्षपछि बजारमा खपत हुने सक्षम जनशक्ति बनाउन चाहन्छौँ,” उनले थपे।
विद्यालयकी प्रिन्सिपल आब्या शुक्लाले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरिन्। “हामीले निरन्तर पठनपाठनका साथै बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अपनाएर विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिनेछौँ,” उनले भनिन्। “हाम्रो लक्ष्य भनेको विद्यार्थीलाई ज्ञान मात्र होइन, जीवनोपयोगी सीप र संस्कार पनि सिकाउनु हो।” उनले शिक्षाको गुणस्तर कायम राख्न हर सम्भव प्रयास गरिने बताइन्।
यसै गरी, विद्यालयका अध्यक्ष दीपक बहादुर विष्टले ग्रामीण भेगका साना कक्षाका विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गरिएको बताए। “हामीले ११ वटा आधुनिक कक्षाकोठा निर्माण गरेका छौँ, जुन सुविधा सम्पन्न छन्,” उनले भने। “सहर बजारका महँगा विद्यालयको तुलनामा हामीले घर आँगनमै उत्कृष्ट शिक्षा प्रदान गर्नेछौँ।” उनले अभिभावक र विद्यार्थीलाई विश्वस्त पार्ने गरी विद्यालय सञ्चालन गरिने दाबी गरे। “हाम्रो प्रयास भनेको गाउँका बालबालिकाले पनि गुणस्तरीय शिक्षाबाट वञ्चित नहुन् भन्ने हो,” उनले थपे।
सञ्चालकहरूले यो विद्यालयले परम्परागत शिक्षालाई आधुनिक प्रविधिसँग जोडेर नयाँ पुस्तालाई तयार पार्ने बताएका छन्। दैजी क्षेत्रमा शैक्षिक पहुँच विस्तार गर्न यो विद्यालय एउटा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ। स्थानीय अभिभावक र विद्यार्थीको मागलाई सम्बोधन गर्दै सरस्वती विद्या सदन (तक्षशिला स्कुल) ले गुणस्तरीय शिक्षाको नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।









Discussion about this post