कञ्चनपुर – सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। शनिबार भीमदत्त नगरपालिकाको सभा हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। उक्त प्रतियोगितामा भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्य रहेको थियो भने सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरका अध्यक्ष लोकेन्द्र बिष्टको सभापतित्व रहेको थियो।

प्रतियोगितामा महेन्द्रनगरका ४ वटा सामुदायिक विद्यालयका ५ वटा टिमको सहभागिता रहेको थियो। जसबाट महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) को अल्फा टिम प्रथम स्थान र सिग्मा टिमले द्वितीय स्थान प्राप्त गरेको छ भने भृकुटी माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यालयलाई क्रमश: ४०००, २००० र १००० सहित प्रमाण पत्र वितरण गरिएको छ भने प्रतियोगितामा सहभागी विद्यालयलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको छ।

सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरका प्रधानाध्यापक सुरज बिष्टले विद्यार्थीले सिकाइ किताबमा मात्रै सिमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्ने बताएका छन्। यसै उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।यस्ता प्रतियोगिताहरूले विद्यार्थीको बाह्य ज्ञान वृद्धि विकासमा सेवा पुग्ने उनको भनाई रहेको छ। साथै प्रधानाध्यापक बिष्टले यस्ता प्रतियोगिता तथा कार्यक्रमहरू निरन्तर गरिरहने प्रतिवद्धता समेत गरेका छन्।

यसैगरी भीमदत्त नगर उपप्रमुख निलम लेखकले सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उक्त शैक्षिक संस्थालाई सकेको सहयोग गर्न सँधै तत्पर रहेको बताइन्।

उक्त प्रतियोगिताको सञ्चालन सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरका गणित शिक्षक रोहित पालले गरेका थिए। सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरले विगत लामो समयदेखि यस्ता विद्यार्थीमुखी कार्यक्रम तथा प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ।










Discussion about this post