नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद खोल्न एमालेसँग वार्ता गर्ने र सहमतिमा नआए भण्डाफोर गर्नुपर्ने बताएका छन् ।
शुक्रबार गोरखामा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले संसदलाई बन्धक बनाएर एमाले अध्यक्ष केपी शर्मा ओली गाउँ गाउँ डुलेको भन्दै अब धेरै समय संसदलाई बन्धक राख्न नसकिने बताए ।
‘हामी सरकार चलाउने पार्टी हौं झुक्नुपर्छ भने झुक्छौं, विनम्र हुनुपर्ने भए हुन्छौं, हामीले केही कुरा मिलाउन सक्ने भए मिलाउँछौं, तर हात्ती किन्देऊ भने हात्ती किनिदिने, झोला किनिदेऊ भने झोला किनिदिने, तर हात्ती झोलामा हालिदेऊ भन्दा सकिंदैन । त्यो बेला जनताको बीचमा जानुपर्छ र भन्नुपर्छ’ थापाले अघि भने, ‘अब कि छलफल संवाद हुन्छ, केही निष्कर्ष निस्कन्छ, होइन भने भण्डाफोर हुन्छ ।’
अब गाउँ आउने हरेक सांसदलाई नागरिकले पहिले संसदको अवरोध हटाएर त्यहाँ बोल अनि मात्र गाउँ आऊ भन्नुपर्ने थापाले बताए । ‘होइन भने सांसद बनेको छ, तलब भत्ता आएकै छ । संसद गयो, घण्टी बज्यो कि मुर्दाबाद मुर्दाबाद भन्यो । के को लागि भनेको पनि थाहा छैन’, उनले भने ।
महामन्त्री थापाले संसदीय व्यवस्था अफापसिद्ध हो भन्ने पुष्टि गर्न योजनावद्ध ढंगले संसद अवरोध गरिएको आरोप लगाए ।एमालेले एक वर्षसम्म संसद अवरोध गर्ने र संसदले काम गर्न सकेन भनेर चुनावी एजेण्डा बनाउन खोजेको थापाले आरोप लगाए ।
‘अर्को मंसीरसम्म चुनाव गर्नुछ, एक वर्ष संसद चलाउनुछ, एक वर्षसम्म यत्तिकै राखियो भने एक वर्ष पछाडि नेकपा एमालेले नै हामीले भनेको होइन संसद चल्दैन भनेर चल्यो त ? भनेर उसैले भन्छ, के हामी त्यसका लागि कुरेर बस्ने ?’ उनले प्रश्न गरे । अनलाइनखबर बाट सभार









Discussion about this post