काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ।
मंसिर १ गते काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदाताहरूलाई सम्मान गर्नुभएको हो।
यस वर्ष सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ। नवयुवा आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट तथा तोडफोडबाट ठूलो क्षति पुगेको थियो। उक्त क्षतिका बाबजुद पुनः व्यावसायिक गतिविधिलाई निरन्तरता दिँदै अर्थतन्त्रमा पुर्याएको योगदानको कदर गर्दै कम्पनीलाई विशेष सम्मान गरिएको हो।
व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित हुनुभएको छ भने संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालिले सम्मान प्राप्त गरेको छ।
त्यसैगरी थर्ड आई इन्टरनेशनल, डाबर नेपाल, इन्फाइनाइट सफ्टवेयर सर्भिसेस, ओसीबी फुड्स एन्ड फिड्स प्रालि, नबिल बैंक, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, सोल्टी होटल, सीजी इम्पेक्स प्रालि, फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर, भोटेकोशी पावर कम्पनी र आईएमई लिमिटेड पनि सम्मानित भएका छन्।
यसैगरी हिमालयन लिमिटेड डिस्टिलरी, इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, वरुण बेभरेज नेपाल प्रालि, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समेत सम्मान गरिएको छ।
नेपालमा हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ। कर दिवसका अवसरमा सरकारले कर प्रणालीमा योगदान पुर्याउने उत्कृष्ट व्यक्तिगत तथा संस्थागत करदातालाई सम्मान गर्दै आएको छ।
उपलब्ध तथ्याङ्कअनुसार नेपालमा व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ।










Discussion about this post