काठमाडौं । नेपालले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा जलवायु अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडीबी) सँग थप सहयोग माग गरेको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र पुनर्निर्माणका चुनौती समाधान गर्न एडीबीको थप साझेदारी आवश्यक रहेको बताएकी छन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा एडीबीका उपाध्यक्षलगायत प्रतिनिधिसँग भएको द्विपक्षीय भेटवार्तामा मन्त्री चौधरीले भोटेकोशी करिडोरको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेकी हुन्।
उनले भोटेकोशी बाढीका कारण बस्ती, सडक, पुल, जैविक विविधता तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्लाभका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिइन्।
मन्त्री चौधरीले उक्त विपद्लाई जलवायु परिवर्तनका कारण सिर्जित हानि तथा नोक्सानीको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरिन्।
त्यसैगरी, हानि तथा नोक्सानी प्रतिकार्य कोषबाट नेपालले प्राप्त गरेको दुई करोड अमेरिकी डलर सहयोगप्रति आभार व्यक्त गर्दै उनले पुनर्निर्माणका क्रममा जलवायु उत्थानशील पूर्वाधार, सुरक्षित पुनर्वास, जीविकोपार्जनका अवसर र पूर्वसूचना प्रणाली विकासमा एडीबीको सहयोग आवश्यक रहेको बताइन्।










Discussion about this post