काठमाडौं । नेपाल र भारतले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध प्रवेश नियन्त्रणका लागि आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंमा सम्पन्न नेपाल–भारत १०औँ समन्वय बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण र सूचना आदानप्रदानलाई तीव्र बनाउने विषयमा सहमति भएको हो।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा तीन दिनसम्म बैठक सञ्चालन भएको थियो।
बैठकमा अघिल्लो बैठकका निर्णयहरूको प्रगति समीक्षा गर्दै रणनीतिक, अपरेसनल र कार्यक्षेत्र तहमा समन्वय बढाउने निर्णय गरिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाइनेछ। साथै, दसगजा क्षेत्रमा संयुक्त गस्ती गर्ने र शंकास्पद गतिविधिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ।
त्यस्तै, मानव बेचबिखन, लागुऔषध कारोबार, अवैध तस्करी, नक्कली नोट तथा सीमापार आपराधिक सञ्जाल नियन्त्रणका प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकमा सामाजिक सञ्जालको दुरुपयोग र भ्रामक सूचनाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न संस्थागत सहकार्य सुदृढ गर्ने विषयमा समेत छलफल भएको छ।
सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउन दसगजा क्षेत्रमा सीसीटीभी, प्रमुख नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर जडान गर्ने विषय पनि बैठकमा उठाइएको छ।










Discussion about this post