कञ्चनपुर । युवाको नेतृत्व विकास, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता तथा विपद् र जलवायुजन्य जोखिम न्यूनीकरणमा युवाको भूमिका बढाउने उद्देश्यले कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन–२०२६ सम्पन्न भएको छ। सम्मेलनले युवाको नेतृत्वमा उत्थानशील समाज निर्माणका लागि १० बुँदे घोषणापत्र जारी गरेको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको आयोजनामा रानाथारू होमस्टेमा सम्मेलनसँगै शीतलहरसम्बन्धी प्रभावमा आधारित पूर्वानुमान (आईबीएफ) कार्यशाला आयोजना गरिएको हो।
सम्मेलनबाट जारी घोषणापत्रमा सामाजिक सद्भाव र एकता प्रवर्द्धन, निर्णय प्रक्रियामा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने, विपद् पूर्वसूचना तथा पूर्वकार्य प्रणाली सुदृढ बनाउने, गुणस्तरीय शिक्षा र सीप विकासलाई प्राथमिकता दिने विषय समेटिएका छन्।
त्यसैगरी डिजिटल प्रविधि र नवप्रवर्तनको प्रवर्द्धन, हरित रोजगारी तथा आर्थिक अवसर सिर्जना, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण, अन्तरपुस्ता सहकार्य र लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले युवाहरू विपद् व्यवस्थापनमा मात्र नभई सामाजिक, आर्थिक, वातावरणीय तथा विकासका सबै क्षेत्रमा सक्रिय हुनुपर्ने बताउनुभयो। विपद्को पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनादेखि समुदायको विकाससम्म युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको उहाँको भनाइ थियो।
नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले उत्थानशील समाज निर्माण र दिगो विकासका लागि युवाको सक्रिय सहभागिता, नेतृत्व र नवीन सोच महत्त्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिका उत्थानशील युवा सञ्जालकी संयोजक दुर्गा बडुवाल र भीमदत्त उत्थानशील युवा सञ्जालका संयोजक उत्तम सुनारले युवा सञ्जालका गतिविधि, समुदायमा युवाको भूमिका र आगामी योजनाबारे धारणा राख्नुभएको थियो।
सम्मेलनमा स्थानीय तहको योजना तथा निर्णय प्रक्रियामा युवाको सहभागिताबारे प्यानल छलफलसमेत गरिएको थियो। छलफलमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी र वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी सहभागी हुनुभएको थियो।
घोषणापत्रमा युवा सम्मेलनलाई नियमित र प्रभावकारी बनाउँदै संस्थागत विकास तथा निरन्तरताका लागि जिल्लास्तरीय युवा सञ्जालमार्फत पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसैगरी, सम्मेलनसँगै आयोजित आईबीएफ कार्यशालामा शीतलहरको जोखिम पहिचान, सम्भावित प्रभावको विश्लेषण, पूर्वतयारी र पूर्वकार्यका विषयमा छलफल गरिएको थियो। जोखिममा रहेका समुदायको समयमै पहिचान गरी मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यशाला केन्द्रित थियो।
सम्मेलनले विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता, सामाजिक सद्भाव र दिगो विकासका क्षेत्रमा युवाको नेतृत्व तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।










Discussion about this post