दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आगामी कात्तिक १७ देखि १९ गतेसम्म ‘अपिहिमाल पर्यटन उत्सव’ आयोजना हुने भएको छ। पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टका अनुसार तीन दिनसम्म विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकुदका कार्यक्रम सञ्चालन हुनेछन्।
उत्सवको मुख्य आकर्षणका रूपमा अपिहिमाल आधार शिविर क्षेत्रको पिलकन्दमा क्रिकेट प्रतियोगिता आयोजना गरिनेछ। उच्च हिमाली क्षेत्रमा खेलकुदसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आधार शिविरमै क्रिकेट खेल सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
उत्सवको पहिलो दिन राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति र साहित्यिक गोष्ठी आयोजना हुनेछ। दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। यसका साथै गाउँपालिकाका विभिन्न क्षेत्रमा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधि पनि सञ्चालन हुनेछन्।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यस वर्ष अपिहिमालमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। पछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्।
सरकारले पहिचान गरेका देशका प्रमुख सय पर्यटकीय गन्तव्यमा समेटिएको अपिहिमाललाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ। निर्माण भएका पर्यटन पूर्वाधारलाई दिगो बनाउँदै स्थानीयलाई रोजगारी र आयआर्जनसँग जोड्ने लक्ष्यसमेत राखिएको छ।
उत्सवमा सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रतिनिधि, संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद र प्रदेशसभा सदस्यलाई निमन्त्रणा गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसक्ने जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
उत्सव सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिका अध्यक्ष बोहराको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।










Discussion about this post