काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो क्रममा देखिएको छ। असोज महिनामा मात्रै ७३ हजार ७ सय ६५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सन् २०२६ सेप्टेम्बर १७ देखि अक्टोबर १७ सम्मको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमा ६३ हजार ३ सय ७७ पुरुष र १० हजार ३ सय ८८ महिला रहेका छन्।
नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत उक्त संख्यामा श्रमिकले स्वीकृति पाएका हुन्।
विभागको तथ्यांकअनुसार नेपाली श्रमिकको पहिलो गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। एक महिनामा यूएई जान २३ हजार ८ सय ९९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, कतारका लागि ११ हजार ४ सय ९७, मलेसियाका लागि ९ हजार ६ सय ५३, साउदी अरेबियाका लागि ८ हजार ३ सय ६६ र कुवेतका लागि ५ हजार २७ जनाले स्वीकृति पाएका छन्।
यी पाँच देशमा मात्रै ५८ हजार ४ सय ४२ जनाले श्रम स्वीकृति लिएका छन्। यसले नेपाली श्रमिकको ठूलो हिस्सा खाडी मुलुक र मलेसियामा केन्द्रित रहेको देखाउँछ।
खाडी मुलुकबाहेक युरोप तथा अन्य विकसित देशमा जाने श्रमिकको संख्या पनि उल्लेख्य छ। रोमानियाका लागि २ हजार ४ सय ७८, जापानका लागि १ हजार ४ सय ९५, टर्कीका लागि १ हजार १ सय ३ र दक्षिण कोरियाका लागि १ हजार ४१ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, ओमान, बहराइन, साइप्रस र माल्दिभ्सलगायत देशका लागि पनि श्रम स्वीकृति जारी भएको छ।
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै झापाबाट ३ हजार ४ सय ९० जनाले श्रम स्वीकृति लिएका छन्। धनुषाबाट ३ हजार ३ सय २६, मोरङबाट ३ हजार १ सय ७७, सिराहाबाट २ हजार ७ सय २३ र महोत्तरीबाट २ हजार ५ सय ३९ जनाले स्वीकृति पाएका छन्।
यता, सीपगत विवरणअनुसार ४० हजार ७ सय जना दक्ष, २० हजार २ सय २८ जना अदक्ष र १२ हजार ३ सय ४२ जना अर्धदक्ष श्रमिक रहेका छन्। त्यस्तै, ४ सय १५ जना व्यावसायिक र ८० जना उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन्।
विभागको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको ठूलो हिस्सा परम्परागत गन्तव्यमा केन्द्रित रहे पनि युरोप, जापान र दक्षिण कोरियाजस्ता मुलुकतर्फ जाने क्रमसमेत जारी रहेको देखाएको छ।










Discussion about this post