काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको नेपालमा सामान्य प्रभाव मात्र परेको मौसमविद्हरूले बताएका छन्। चक्रवात कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भएकाले नेपालमा ठूलो वर्षा नभएको उनीहरूको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको अवशेष र पश्चिमी वायुको प्रभाव शनिबारसम्म रहनेछ। शनिबार अपराह्नपछि भने देशका अधिकांश स्थानमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने अनुमान गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार चक्रवातको अवशेष हाल न्यूनचापीय प्रणालीका रूपमा नेपालको नजिक रहेका भारतका बिहार, उत्तर प्रदेश र मध्य प्रदेश आसपास सक्रिय छ। यसको प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वी नेपालका केही स्थानमा भने शनिबार रातिसम्म प्रभाव रहन सक्ने उनले बताएका छन्।
शुक्रबार राति काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थियो। पूर्वी जिल्लाहरू इलाम, खोटाङ र सोलुखुम्बुलगायतका क्षेत्रमा पछिल्लो २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। वर्षा गराउने प्रणाली कमजोर हुँदै गए पनि केही हिमाली क्षेत्रमा हिमपात जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार न्यूनचापीय प्रणालीले ल्याएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालको पूर्वी तथा मध्य भागसँगै लुम्बिनी र कर्णालीका पूर्वी क्षेत्रमा समेत वर्षा भइरहेको छ।
उनका अनुसार सबै चक्रवातले नेपालमा प्रभाव पार्दैनन्। यसको प्रभाव हावाको बहाव र दिशामा निर्भर हुन्छ। समुद्री सतहको तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि चक्रवात विकासका लागि अनुकूल अवस्था बन्ने गर्छ।
विज्ञहरूका अनुसार चक्रवात प्राकृतिक प्रक्रिया भए पनि जलवायु परिवर्तनका कारण यस्ता मौसमी घटनाबाट उत्पन्न जोखिम बढ्न सक्छ। समुद्रको तापक्रम वृद्धि हुँदै जाँदा समुद्री तटीय क्षेत्रदेखि हिमाली भूभागसम्म विपद्को जोखिम बढ्न सक्ने उनीहरूको चेतावनी छ।










Discussion about this post