काठमाडौं । नेपाली क्रिकेटको लोकप्रिय प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे गत संस्करणका फाइनल प्रतिस्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी छन्।
यस संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, विदेशी स्टार खेलाडीको सहभागिता र निर्णय समीक्षा प्रणाली (डीआरएस) को प्रयोगले यसपटकको प्रतियोगितालाई थप आकर्षक बनाएको छ। विदेशी खेलाडीको आगमनसँगै नेपाली क्रिकेटप्रेमीमा उत्साह बढेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लिग चरणका खेलका लागि साधारण टिकट ५०० र प्रिमियम टिकट १ हजार रुपैयाँ निर्धारण गरिएको छ। एलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकट १ हजार तथा प्रिमियम टिकट २ हजार रुपैयाँ तोकिएको छ। टिकट ईसेवामार्फत बिक्री भइरहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ।










Discussion about this post