काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ। कडा प्रतिस्पर्धामा उहाँले दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोलाई पराजित गर्नुभएको हो।
बीबीसीका अनुसार मतगणना सम्पन्न हुँदा लुलाले ५१.७६ प्रतिशत र बोल्सोनारोले ४८.२४ प्रतिशत मत प्राप्त गर्नुभएको छ।
पहिलो चरणमा बोल्सोनारोले अग्रता लिएपछि लुलाको जित कठिन हुने अनुमान गरिएको थियो। तर, दोस्रो चरणमा मतदाताको समर्थन जुटाउँदै उहाँले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल हुनुभयो।

सन् १९८८ मा ब्राजिलमा लोकतन्त्र पुनःस्थापित भएयता पहिलो चरणमा पछि परेको उम्मेदवारले दोस्रो चरणमा जित हासिल गरेको यो पहिलो घटना भएको समाचारमा उल्लेख छ।
८० वर्षीय लुलाले यसअघि सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल राष्ट्रपति पद सम्हाल्नुभएको थियो। त्यसपछि सन् २०२३ मा पुनः राष्ट्रपति बन्नुभएका उहाँ अब चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको हो।
लुलाको जितपछि उहाँका समर्थकहरूले सडकमा उत्सव मनाएका छन्। आतसबाजी, गीतसंगीत र नाराबाजीसहित समर्थकहरूले खुसी व्यक्त गरेका छन्। अर्कोतर्फ, बोल्सोनारोका समर्थकहरू निराश बनेका छन्।
लुलाको पुनःनिर्वाचनलाई ब्राजिलको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतिक शक्तिहरूको प्रभाव बढिरहेका बेला उहाँको जितले क्षेत्रीय राजनीतिमा समेत चर्चा बढाएको छ।










Discussion about this post