काठमाण्डौ — वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको आज ६ महिना पूरा भएको छ।
२०८२ साल फागुन २१ गतेको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा १ सय ८२ सिटसहित बहुमत हासिल गरेपछि शाह चैत १३ गते प्रधानमन्त्री बन्नुभएको थियो।
सरकार गठनपछि पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधार, सुशासन र सेवा प्रवाहलगायत विषय समेटिएका १ सय प्रमुख एजेन्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन, पारदर्शिता, डिजिटल रूपान्तरण, कानुनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
सरकारले प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा विभिन्न नीतिगत उपलब्धि हासिल भएको दाबी गर्दै आएको छ। तर भोटेकोशी बाढी तथा पछिल्लो वर्षाका कारण भएको जनधनको क्षति, पुनर्निर्माण तथा पुनर्स्थापना, बजार भाउ नियन्त्रणलगायत विषय सरकारका लागि चुनौती बनेका छन्।
सरकारको कार्यशैली र विभिन्न विषयमा प्रतिपक्षसँगै सत्ता पक्षकै सांसदहरूले समेत खबरदारी गर्दै आएका छन्। विशेषगरी सुकुम्बासी समस्या, विपद्पछिको पुनर्निर्माण, पुनर्स्थापना र बजार मूल्य नियन्त्रणका विषयमा सरकारमाथि प्रश्न उठ्दै आएको छ।
यसैबीच, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेका विषयप्रति सत्ता पक्ष र प्रतिपक्षका नेताहरूबाट सकारात्मक प्रतिक्रिया आएको छ। प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणमा देखाइएको सादगीलाई समेत विभिन्न पक्षले सकारात्मक रूपमा लिएका छन्।










Discussion about this post