काठमाडौं — जापानमा जारी २०औँ एसियन गेम्स २०२६ को पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रोहितकुमार पौडेल ३३ रनमा अविजित रहे। कप्तान दिपेन्द्रसिंह ऐरीले १५ रन बनाए। दिपेन्द्र र रोहितले पाँचौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै नेपालको जित सहज बनाएका थिए। गुल्सन झा १ रनमा अविजित रहे भने कुशल मल्लले ९ रन जोडे।
अफगानिस्तानका लागि फरिदोन दाओदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले समान १ विकेट लिए।
यसअघि ब्याटिङ गरेको अफगानिस्तानका फैसल खान अहमदजाई र नाजिबुल्लाह जद्रानले समान ३०–३० रन बनाए। फैसलले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे भने नाजिबुल्लाहले ४० बलमा २ चौका प्रहार गरे। नाङ्गेलिया खान १७ रनमा अविजित रहे।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे। नेपाली बलरको प्रभावकारी प्रदर्शनका कारण अफगानिस्तान ठूलो स्कोर बनाउनबाट रोकिएको थियो।
नेपालको प्रतियोगितामा यो पहिलो खेल हो। अफगानिस्तानले भने आफ्नो दोस्रो खेल खेलेको हो। यसअघि अफगानिस्तानले आयोजक जापानलाई पराजित गरेको थियो।
नेपालले अब समूह चरणको दोस्रो खेल जापानसँग खेल्नेछ। समूह चरणपछि नेपालले क्वार्टरफाइनलमा भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।










Discussion about this post