महेन्द्रनगर । ९७ वर्षीय पण्डित शिवदत्त पन्त ‘गर्ग’द्वारा लिखित ‘भागेश्वर महिमा लोक गाथा’ पुस्तक वेदकोट नगरपालिकामा आयोजित कार्यक्रमबीच विमोचन गरिएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–४, विव्यावती डुगरीमा जन्मनुभएका पन्त हाल कञ्चनपुरको वेदकोट नगरपालिका–६, सिसैयामा बसोबास गर्दै आउनुभएको छ।
समाजसेवी लक्ष्मीदत्त बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले पुस्तक विमोचन गर्नुभएको हो। कार्यक्रममा साहित्यप्रेमी, विद्वान्, लेखकका परिवारजन तथा स्थानीयको सहभागिता रहेको थियो।
पुस्तकमा भागेश्वर क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वसँगै विभिन्न लोकगाथा, धुमारी, धार्मिक स्थल र स्थानीय परम्परा समेटिएका छन्। भागेश्वर महिमाको इतिहास, ओल्के संक्रान्ति, रामचन्द्र धुनी, पाण्डव धुनी, कृष्ण धुनी, चैन धुमारी तथा पैकेला जोधाको इतिहासलगायतका विषय पुस्तकमा समावेश छन्।

कार्यक्रममा नगर प्रमुख बोहराले ९७ वर्षको उमेरमा पन्तले जन्मभूमिको धार्मिक तथा सांस्कृतिक इतिहासलाई पुस्तकमार्फत अभिलेखीकरण गर्नु प्रेरणादायी कार्य भएको बताउनुभयो। उहाँले यस्ता कृतिले सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र इतिहास संरक्षणमा योगदान पुर्याउने उल्लेख गर्नुभयो।
लेखकका सुपुत्र नेत्रप्रसाद पन्तले लामो समयदेखि संकलन गरिएका लोकगाथा, धुमारी, धार्मिक तथा ऐतिहासिक विषयवस्तुलाई पुस्तकका रूपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पुस्तकले भागेश्वर क्षेत्रको मौलिक संस्कृति र परम्परालाई भावी पुस्तासम्म पुर्याउन महत्वपूर्ण दस्तावेजको भूमिका खेल्नेछ।

कार्यक्रममा सहभागीहरूले ९७ वर्षको उमेरमा पन्तले आफ्नो जन्मभूमिको इतिहास, धर्म, संस्कृति र लोकपरम्परा संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए।











Discussion about this post