काठमाडौँ । सिराहामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएपछि मन्त्री पोखरेलले घटनालाई तोडमोड गरी भ्रामक प्रचार गरिएको बताउनुभएको छ।
औरही गाउँपालिकाको शिक्षा शाखाले शनिबार आयोजना गरेको पाठ्यक्रम सुझाव सङ्कलन कार्यक्रममा मन्त्री पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक तथा विद्यार्थीले सुझाव राखेपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले मन्तव्य दिनुभएको थियो।
त्यसपछि जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेशकुमार महतोले बोल्ने कार्यक्रम रहे पनि मन्त्री पोखरेललाई सम्बोधनका लागि आग्रह गरिएपछि उहाँले बीचमै प्रश्न उठाउनुभएको थियो। त्यसक्रममा कार्यक्रममा केहीबेर होहल्ला भएको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव यादवका अनुसार होहल्लापछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिनुभएको थियो। जिल्ला समन्वय समिति सिराहाका सभापति महतोले भने मन्त्री ढिलो आइपुग्दा कार्यक्रमको तालिका प्रभावित भएको टिप्पणी गर्नुभएको छ।
विवादपछि मन्त्री पोखरेल मन्तव्य पूरा नगरी सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थलबाट बाहिरिनुभएको थियो। कार्यक्रममा सांसदहरू, जिल्ला समन्वय समितिका पदाधिकारी तथा गाउँपालिकाका जनप्रतिनिधिको समेत सहभागिता थियो।
घटनाबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले मधेस प्रदेशमा भइरहेको पाठ्यक्रम सुझाव सङ्कलन अभियानलाई प्रभावित पार्ने उद्देश्यले घटनालाई सन्दर्भबाट अलग गरी भ्रामक प्रचार गरिएको दाबी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने बताउनुभएको छ।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग सुझाव सङ्कलन भइरहेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ २४ गतेदेखि सातै प्रदेशका २८ जिल्लामा अन्तरक्रिया गर्दै सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ। यो अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने र दोस्रो चरणमा ७७ वटै जिल्लाका सरोकारवालासँग सुझाव लिइने मन्त्रालयले जनाएको छ।










Discussion about this post