काठमाडौँ । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) भिड्दैछन्। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
उपाधिसँगै एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिएका छन्। प्रतियोगिताको पहिलो संस्करण सन् २०२३ मा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो। युएईले सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै दोस्रो संस्करणको उपाधि हात पारेको थियो।
यसपटकको फाइनल दुवै टोलीका लागि विशेष महत्वको छ। उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवैका लागि यो खेल उपाधिसँगै एसिया कपको टिकट सुरक्षित गर्ने अवसर हो।
प्रतियोगितामा नेपालले समूह चरणदेखि सेमिफाइनलसम्म पाँच खेल खेल्दा चारमा जित र एकमा हार बेहोरेको छ। युएई भने अपराजित रहँदै फाइनलमा पुगेको छ। त्यसैले युएईको अपराजित यात्रामा पूर्णविराम लगाउँदै उपाधि जित्ने चुनौती नेपालसामु छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन्। जसमा नेपालले ११ र युएईले ८ खेल जितेका छन्। पछिल्ला पाँच खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ। गत मेमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत भएका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो।
पछिल्ला खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च रहे पनि फाइनलमा युएईलाई कमजोर आँक्न सक्ने अवस्था छैन। बलिङ, ब्याटिङ र पछिल्ला खेलको लयलाई निरन्तरता दिन सके नेपालले उपाधि जित्दै एसिया कपमा स्थान बनाउने अपेक्षा गरिएको छ।










Discussion about this post