काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण सूचीबाट सकेसम्म चाँडो बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायसँग समेत आवश्यक पहल भइरहेको जानकारी दिए।
उनका अनुसार नेपालको पक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको विशेष टोली परिचालन गरिएको छ। उक्त टोली हाल मलेसियामा रहेर आवश्यक काम गरिरहेको उनले बताए।
वाग्लेले एफएटीएफसँग सम्बन्धित विषयमा अमेरिकी अर्थमन्त्रीसँग समेत भेटवार्ताको प्रयास भइरहेको जानकारी दिए। नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको असर अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानीको वातावरण र पुँजी प्रवाहमा पर्न सक्ने भएकाले सरकार गम्भीर रहेको उनको भनाइ छ।
सरकारले ग्रे लिस्टबाट बाहिरिन चालिरहेका कदमबारे विभिन्न अफवाह फैलाउने काम भइरहेको भन्दै अर्थमन्त्री वाग्लेले त्यसप्रति सचेत रहन आग्रह गरे।
उनले प्राकृतिक विपद्बाट भएको क्षति तथा पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताए। पुनर्निर्माणलाई पुरानै संरचना बनाउने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए। लगानीमैत्री वातावरण निर्माण गर्न आफू अर्थमन्त्री बनेदेखि नै नीतिगत सुधारलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ।










Discussion about this post