महेन्द्रनगर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु. १ लाख १ हजार १११ सहयोग गरेको छ।
महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको सहकारीले जनाएको छ।
सहकारीका कार्यकारी अधिकृत सुनिल सेट्टीका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरिएको हो।
सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक बजेट तथा कार्यक्रममा समावेश ‘प्राकृतिक प्रकोप राहत’ शीर्षकबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति सहकारीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ताहरूको सुरक्षित खोजी तथा विस्थापित नागरिकको उद्धार र पुनःस्थापनाको कामना गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै मेगा सहकारीले आफ्ना सदस्य, शुभेच्छुक तथा सरोकारवालालाई पनि मानवीय सेवाको भावनासहित आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल गरेको छ।











Discussion about this post