काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव थप चुलिँदै गएको छ। साउनको पहिलो सातादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ता पछिल्लो समय भोटेकोशी बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण थप समस्यामा परेका छन्।
उपत्यकामा ग्यास भर्ने १९ वटा प्लान्ट सञ्चालनमा रहे पनि कृष्णभीरमा सडक अवरुद्ध हुँदा ठूला ग्यास बुलेटको आवागमन प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। त्यसका कारण उपत्यकामा ग्यासको नियमित आपूर्ति प्रभावित भएको हो।
व्यवसायीहरूले हेटौँडा, वीरगञ्ज, नवलपरासी, धनुषालगायतका क्षेत्रबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न आग्रह गरेको छ।
तर, उपभोक्ताहरू बढेको मूल्य तिर्न तयार हुँदासमेत बजारमा सहज रूपमा ग्यास उपलब्ध हुन सकेको छैन।
नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने गरेकोमा अहिले दैनिक औसत ३० हजार सिलिन्डर मात्र भित्रिइरहेको छ।
ग्यासको अभाव भएपछि बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारसहित उपत्यकाका विभिन्न डिपोमा बिहानैदेखि सिलिन्डर बोकेर लाइन बस्ने उपभोक्ताको भीड देखिन थालेको छ।
उपभोक्ता अधिकारवादी सङ्घ–संस्थाहरूले भने बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको र मनपरी मूल्य असुली हुन सक्ने भन्दै प्रभावकारी अनुगमन तथा नियमन गर्न सरकारसँग माग गरेका छन्।










Discussion about this post