काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण संरचना बगेर झण्डाविहीन बनेको रसुवाको रसुवागढीस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा पुनः फहराइएको छ।
सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार रसुवागढी सीमा क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा पुनःस्थापना गरेको हो।
गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नाकामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नेपालतर्फका अधिकांश भौतिक संरचना बगाएको थियो। बाढीका कारण सीमा क्षेत्रमा रहेका सुरक्षा संरचनासमेत प्रभावित भएका छन्।
राष्ट्रिय झण्डा पुनःस्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमपूर्ण भीरको बाटो पार गरेको थियो। कठिन भौगोलिक अवस्था र जोखिमका बीच टोली सीमा नाकासम्म पुगेर झण्डा फहराउन सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
बाढीबाट सीमा क्षेत्रमा ठूलो भौतिक क्षति भएपछि सीमाको सुरक्षा, आवागमन तथा व्यवस्थापनमा चुनौती थपिएको छ। यस्तो अवस्थामा सुरक्षाकर्मीले जोखिमपूर्ण भूगोल पार गर्दै सीमा क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा पुनःस्थापना गरेका हुन्।
सीमा नाकामा राष्ट्रिय झण्डा पुनःस्थापना हुनुले प्राकृतिक विपत्तिका कारण भौतिक संरचना क्षतिग्रस्त भए पनि नेपालको सीमा सुरक्षा र राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिइरहेको सन्देश दिएको छ।
अब रसुवागढी सीमा नाकामा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै सुरक्षा व्यवस्था र आवागमनलाई सहज बनाउने काम चुनौतीपूर्ण देखिएको छ। भोटेकोशी बाढीबाट भएको क्षतिको पुनःनिर्माण तथा सीमा क्षेत्रमा आवश्यक संरचना पुनःस्थापनाका लागि दीर्घकालीन योजना आवश्यक देखिएको छ।










Discussion about this post